बैशाख–४, खोटाङ स्पोर्टस क्लवले आर्थिक सहयोग उठाएर जिल्लामा पहिलो पटक जिल्ला ब्यापी खुल्ला महिला फुटबल प्रतियोगीता शुरु गरेको छ । स्पोर्टस क्लवले व्यक्ती, संघसस्था तथा होटलबाट आर्थिक सहयोग उठाएर बुधबारदेखि खोटाङ स्पोर्टस कप महिला फुटबल प्रतियोगिता शुरु गरेको हो । 

सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा जिल्लाका नौं समुहले सहभागिता जनाएका छन् । प्रतियोगिता लिग आउटको आधारमा सञ्चालन गरिएको आयोजकले जनाएको छ । 
‘महिलाको सम्मान, लैंगिक असमानता विरुद्ध हाम्रो अभियान’ भन्ने नारासहित प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ३३ हजार ३ सय ३३, दोश्रो स्थान प्राप्त गर्ने समुहले २२ हजार २ सय २२ र दुई वटा सेमीफाइनलिस्ट समुहले प्रतिसमुह ११ हजार १ सय ११ कासाथमा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । खेल अवधिका सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार ४ सय ४४, सर्वाधिक गोलकर्तालाई २ हजार २ सय २२, उत्कृष्ट गोल रक्षकलाई २ हजार २ सय २२, उत्कृष्ट डिफेन्डरलाई २ हजार २ सय २२, उत्कृष्ट मिड फिल्डरलाई २ हजार २ सय २२ र उत्कृष्ट फरवार्डलाई २ हजार २ सय २२ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने खोटाङ स्पोर्टस क्ल्वका अध्यक्ष बिबेक राई ‘बिकी’ले जानकारी दिनुभयो । 
प्रतियोगीता सञ्चालनकालागि हाल यूकेमा रहेका गजेन्द्र राईको संयोजकत्वमा सह–प्रायोजकस्वरुप ५० हजार र बाम्राङका नवराज खतिवडाबाट प्रायोजकस्वरुप ३० हजार आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । राईबाट प्राप्त भएको सहयोग रकमबाट प्रथम र खतिवडाबाट प्राप्त भएको रकमबाट दोश्रो विजेता समुहलाई पुरस्कार दिने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताउनुभयो ।
सेमीफाइनलमा पुगेका एक समुहलाई दिइने पुरस्कार बाम्राङकै खगेन्द्र राई र मेखबहादुर राईले प्रायोजन गरेका छन् भने अर्को सेमीफाइनलिष्ट समुहलाई दिइने पुरस्कार होटल जन्मभुमी एयरपोर्ट मेनगेट काठ्माडौंले प्रायोजन गरेको छ । सर्वाधिक गोलकर्ता पुरस्कार सभाषद सरस्वति बजीमयले, उत्कृष्ट गोल रक्षक पुरस्कार आरआर क्याम्पसका राजकुमार राई र गिरेन राईले, डिफेन्डर पुरस्कार दिलकुमारी राई स्मृति प्रतिष्ठान निर्मलीडाँडाले, मिड फिल्डर पुरस्कार बाम्राङकी सोनु राई मल्लले र उत्कृष्ट फरवार्ड पुरस्कारको प्रायोजन दोर्पाचिउरीडाँडाका सिताराम राईले गरेका छन् । निर्मलीडाँडाका रबिन राईले ट्रफी प्रयोजन गरेको क्लवले जनाएको छ ।