बैशाख–५, खोटाङको सदरमुकाम दिक्तेलमा जारी जिल्ला ब्यापी खुल्ला महिला फुटबल प्रतियोगीतामा चार समूह सेमीफाईनलमा प्रवेश गरेको छ । खोटाङ स्पोर्टस क्लव खोटाङले आयोजना गरेको प्रतियोगितामा खेलकुद विकास समिति खार्मी, सोल्मा स्पार्टस क्लव सोल्मा, राधाकृष्ण उच्च मावि बाँझेच्यानडाँडा र नवज्योति युवा परिवार नेर्पा सेमीफाईनलमा प्रवेश गरेको हो ।
सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा जिल्लाका नौं समुहले सहभागिता जनाएका थिए । क्वाटरफाईनलका खेलसम्म लिग आउटको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा अन्य समूह भने अंकको आधारमा बाहिरिएका आयोजक खोटाङ स्पोर्टस क्ल्वका अध्यक्ष बिबेक राई ‘बिकी’ले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार ए पोलबाट खार्मी र सोल्मा तथा बी पोलबाट राकृष्ण उमाविा र नवज्योति युवा परिवार नेर्पा सेमीफाईनलमा प्रवेश गरेको हो ।
गत बुधबारबाट शुरु भएको प्रतियोगिता अन्तरगत सेमीफाईनलका खेल भोली शनिबार सञ्चालन हुने आयोजकले जनाएको छ । खेलकुद विकास समिति खार्मी र नवज्योति युवा परिवार नेर्पा तथा सोल्मा स्पार्टस क्लव सोल्मा र राधाकृष्ण उच्च मावि च्याझेँच्यानडाँडाबीच सेमीफाईनलका खेल हुने छ ।
‘महिलाको सम्मान, लैंगिक असमानता विरुद्ध हाम्रो अभियान’ भन्ने नारासहित प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ३३ हजार ३ सय ३३, दोश्रो स्थान प्राप्त गर्ने समुहले २२ हजार २ सय २२ र दुई वटा सेमीफाइनलिस्ट समुहले प्रतिसमुह ११ हजार १ सय ११ कासाथमा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । खेल अवधिका सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार ४ सय४४, सर्वाधिक गोलकर्तालाई २ हजार २ सय २२, उत्कृष्ट गोल रक्षकलाई २ हजार २ सय २२, उत्कृष्ट डिफेन्डरलाई २ हजार २ सय २२, उत्कृष्ट मिड फिल्डरलाई २ हजार २ सय २२ र उत्कृष्ट फरवार्डलाई २ हजार २ सय २२ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगीता सञ्चालनकालागि हाल यूकेमा रहेका गजेन्द्र राईको संयोजकत्वमा सह(प्रायोजकस्वरुप ५० हजार र बाम्राङका नवराज खतिवडाबाट प्रायोजकस्वरुप ३० हजार आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । राईबाट प्राप्त भएको सहयोग रकमबाट प्रथम र खतिवडाबाट प्राप्त भएको रकमबाट दोश्रो विजेता समुहलाई पुरस्कार दिने व्यवस्था मिलाइएको अध्यक्ष राईलेबताउनुभयो ।
सेमीफाइनलमा पुगेका एक समुहलाई दिइने पुरस्कार बाम्राङकै खगेन्द्र राई र मेखबहादुर राईले प्रायोजन गरेका छन् भने अर्को सेमीफाइनलिष्ट समुहलाई दिइने पुरस्कार होटल जन्मभुमी एयरपोर्ट मेनगेट काठ्माडौंले प्रायोजन गरेको छ । सर्वाधिक गोलकर्ता पुरस्कार सभाषद सरस्वति बजीमयले, उत्कृष्ट गोल रक्षक पुरस्कार आरआर क्याम्पसका राजकुमार राई र गिरेन राईले, डिफेन्डर पुरस्कार दिलकुमारी राई स्मृति प्रतिष्ठान निर्मलीडाँडाले, मिड फिल्डर पुरस्कार बाम्राङकी सोनु राई मल्लले र उत्कृष्ट फरवार्ड पुरस्कारको प्रायोजन दोर्पाचिउरीडाँडाका सिताराम राईलेगरेका छन् । निर्मलीडाँडाका रबिन राईले ट्रफी प्रयोजन गरेको क्लवले जनाएको छ ।