बैशाख–५, गाविसले प्रोत्साहन भत्ता कटौती गरेको बिरोधमा खोटाङको लिकुवापोखरीका महिला स्वास्थ्य स्वयंसेविकाहरुले ‘भिटामिन ए तथा जुकाको औषधि’ खुवाउने राष्ट्रिय कार्यक्रमलाई असहयोग गर्ने घोषणा गरेका छन् । गाविसले हरेक वर्ष प्रतिब्यक्ती मासिक ५ सयका दरले दिँदै आएको प्रोत्साहन भत्ता कतौटी गरेको बिरोधमा गाविसका महिला स्वास्थ्य स्वयंसेबिकाहरुले ‘भिटामिन ए तथा जुकाको औषधि’ खुवाउने कार्यक्रमलाई असहयोग गर्ने घोषणा गरेका हुन् ।
बिगत ६ वर्षदेखि गाविसबाट वार्षिक ६ हजारका दरले आउने प्रोत्साहन भत्ता नपाएपछि ‘भिटामिन ए तथा जुकाको औषधि’ खुवाउने राष्ट्रिय कार्यक्रमलाई असहयोग गर्ने निर्णय गरिएको लिकुवापोखरी–९ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रकला राईले बताउनुभयो । राष्ट्रिय कार्यक्रम अन्तरगत शनिबार ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई ‘भिटामिन ए तथा जुकाको औषधि’ खुवाइँदैछ ।
प्रोत्साहन भत्ता नपाएको बिरोधमा आन्दोलित महिला स्वास्थ्य स्वयंसेबिकाले ‘भिटामिन ए तथा जुकाको औषधि’ खुवाउनकालागि आ–आफ्नो वडामा लानुपर्ने औषधि नबुझेको स्थानीय शिक्षिका प्रमिला राईले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयंसेबिकाको बिरोधका कारण गाबिसका २२४ बालबालिका ‘भिटामिन ए तथा जुकाको औषधि’ खानबाट बञ्चित हुने अवस्था आएको शिक्षीका राईको भनाई छ ।
गाविसबाट आर्थिक वर्ष २०६९÷७० को प्रोत्साहन भत्ता प्राप्त भएपनि गत साउन यताको १० महिनाको प्रोत्साहन भत्ता नपाएको महिला स्वास्थ्य स्वयंसेबिकाको गुनासो छ । छिमेकी गाबिसका महिला स्वास्थ्य स्वयंसेबिकाले प्रोत्साहन भत्तापाइरहेकाले आफुुहरुले पनि पाउनुपर्ने उनीहरुको अडान छ ।
स्वास्थ्यचौकी लिकुवापोखरीका अहेव दिपनाराण उराउका अनुशार गाविसले प्रोत्साहन भत्ता घटाएका कारण महिला स्वास्थ्य स्वयंसेबिकाले काम गर्न नमानेको बताउनुभयो । गाविसको पछिल्लो परिषदले बार्षिक ६ हजारबाट घटाएर प्रतिब्यक्ती १५ सय मात्र प्रोत्साहन भत्ता दिने निर्णय गरेकाले समस्या आएको उराउको भनाइ छ ।
यद्यपी, लिकुवापोखरी–१, २, ७ र ८ कालागि आवश्यक औषधि पठाइसकिएको अहेव उराउले जानकारी दिनुभयो । अन्य वडामा पनि भिटामिन ए र जुकाको औषधि पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ ।
उनीहरुले यसअघि पोलियो थोपा खुवाउने कार्यक्रममा पनि प्रोत्साहन भत्ता नपाएको भन्दै आवाज उठाएका थिए । समस्याका बारेमा जानकारी नआएको जिल्ला अस्पताल खोटाङका डा. नवलकिशोर झाले बताउनुभयो । उहाँले छलफलका माध्यमबाट समस्या समाधान गर्ने बताउनुभयो ।