बैशाख–६, खोटाङ स्पोर्टस क्ल्वले आयोजना गरेको जिल्लाव्यापी खुल्ला महिला फुटबल प्रतियोगीताको पहिलो उपाधि खेलकुद बिकास समिति खार्मीले चुमेको छ । ‘महिलाको सम्मान, लैंगिक असमानता विरुद्ध हाम्रो अभियान’ भन्ने नारासहित शुक्रबार सम्पन्न प्रतियोगीतामा सोल्मा स्पोर्टस क्लव दिक्तेललाई पछि पार्दै खेलकुद बिकास समिति खार्मीले खोटाङ स्पोर्टस कप महिला फुटबल प्रतियोगीताको पहिलो उपाधि हात पारेको हो । 
सोल्मा स्पोर्टस क्लवबिरुद्ध शुन्यका बिरुद्ध २ गोल गर्दै खार्मीले पहिलो उपाधिमा कव्जा जमाएको हो । हारसँगै सोल्मा स्पोर्टस क्लव दिक्तेलले दोश्रो स्थानमा चित्त बुझाएका छन् । यस्तै, नवज्योती युवा परिवार नेर्पा र राधाकृष्ण उच्च माबि बाँझेच्यानडाँडाले सेमिफाइनसिष्टको उपाधि प्राप्त गरेका छन् । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ३३ हजार ३३३, दोश्रो स्थान प्राप्त गर्ने समुहले २२ हजार २२२ र दुई वटा सेमीफाइनलिस्ट समुहले प्रतिसमुह ११ हजार १११ कासाथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 
प्रतियोगीतामा नवज्योती युवा परिवार नोर्पाकी श्यामकला राईले उत्कृष्ट खोलाडी, खार्मीकी डम्बरकुमारी तामाङले सर्वाधिक गोलकर्ता, खार्मीकै संगीता राईले उत्कृष्ट गोलकिपर, सोल्माकी सिर्जना राईले उत्कृष्ट डिफेन्डर, बाँझेच्यानडाँडाकी किसनकुमारी राईले उत्कृष्ट मिडफिल्डर र सोल्माकी एलबिना राईले उत्कृष्ट फरवार्डको उपाधि हात पारेकी छन् । खेल अवधिका सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार ४४४, सर्वाधिक गोलकर्तालाई २ हजार २२२, उत्कृष्ट गोल रक्षकलाई २ हजार २२२, उत्कृष्ट डिफेन्डरलाई २ हजार २२२, उत्कृष्ट मिड फिल्डरलाई २ हजार २२२ र उत्कृष्ट फरवार्डलाई २ हजार २२२ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खोटाङ स्पोर्टस क्ल्वका अध्यक्ष बिबेक राई बिकीले बताए ।  
स्पोर्टस क्लवले व्यक्ती, संघसस्था तथा होटलबाट आर्थिक सहयोग उठाएर खोटाङ स्पोर्टस कप महिला फुटबल प्रतियोगीताको आयोजना गरेको हो । सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगीतामा बाक्सिला, दिक्तेल, खार्मी, बाँझेच्यानडाँडा, रतन्छा, बाम्राङ, नेर्पा लगायतका गाबिसका ९ वटा समुहले प्रतिष्पर्धा गरेको आयोजकले जनाएको छ ।