बैशाख–१०, विद्यूत भोल्ट्रेज नपुग्दा खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङमा आउने बिरामीको एक्स–रे गर्न रात कुर्नुपर्ने अवस्था छ । एउटै ट्रान्सफरमरबाट धेरै क्षेत्रमा विद्यूत बिस्तार गरिएकाले यस्तो समयस्या आएको हो ।
जिल्लाका एक मात्र अस्पतालमा पनि एक्स–रे गर्न रात कुर्नुपर्ने अवस्था आएपछि बिरामीहरुलाई सास्ती भएको छ । विद्यूत भोल्ट्रेज कम भएका कारण अस्पतालमा आउने बिरामीहरुको एक्स–रे गर्नुपरेमा रात कुर्नुपर्ने अवस्था आएकाले उपचारमा समस्या भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अस्पतालमा ल्याइएको विद्यूतले दिउसोको समयमा कम्प्युटर समेत खुल्दैन, यसबारे सम्बन्धितनिकायमा पटक–पटक माग गरियो कुनै सुनुवाई भएन ।’
डाक्टर झाका अनुसार अस्पतालमा २५ देखि ५० केभीको ट्रान्सफरमर मात्र चाहिन्छ । अस्पताल श्रोतका अनुसार विद्यूत भोल्ट्रेजकै कारण दुई वर्षदेखि यस्तो समस्या झेल्नु परेको हो । श्रोतका अनुसार जिल्ला अस्पताल खोटाङमा दैनिक १५ देखि २० जनाको हाराहारीमा एक्स–रे गर्न आउने गरेका छन् । कतिपय चर्को शुल्क तिरेर निजी क्लिनिकहरुमा एक्स–रे गर्न बाध्य छन् ।
बिरामीका अफन्तहरु भन्छन्,–‘एक्स–रे गर्नकै लागि हेलिकोप्टर समेत चार्टर गर्नुपर्ने बाध्यता छ, यसमा कसैको ध्यान जान सकेन ।’ एमाले जिल्ला सचिवालय सदस्य कुमार आचार्य भन्नुहुन्छ,–‘केहीदिन अघि हाम्रा कार्यकर्ता लडेर घाइते बनेपछि तीन चोटीसम्म एक्स–रे गर्न अस्पताल लगियो, अन्ततः भोल्ट्रेजकै कारण एक्स–रे भएन ।’ उहाँ थप्नुहुन्छ,–‘जिल्ला अस्पतालमा कुनै सीप नलागेपछि काठमाडौं लगेर एक्स–रे गरियो ।’
अस्पतालमा बिस्तार गरिएको विद्यूत ट्रान्सफरमरबाट दोर्पा, निर्मलीडाँडा, बाँझेच्यानडाँडा लगायत गाविस तथा अस्पताल वरपरका गाउँमा समेत बिस्तार गरिएको छ । धेरै क्षेत्रमा विद्यूत बिस्तार गरिएकाले आफ्नो गाउँमा समेत बत्ती नबल्ने उपभोक्ताको भनाइ छ ।
यसबारे कार्यालयमा ट्रान्सफरमर नभएकै कारण दिन नसकिएको विद्यूत प्राधिकरण शाखा कार्यालय खोटाङका प्रमुख ध्रुबकुमार बिसीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अस्पतालबाट माग आएकै हो, दुई वर्षदेखि कार्यालयमा ट्रान्सफरमर आएको छैन, आउना साथ दिने तयारी गरेका छौं ।’
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने, विद्यूतको व्यवस्था गर्ने जिम्मा आफ्नो नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो,–‘सिडिओले विद्यूत दिने हैन, तर पनि पनि सम्बन्धित निकायमा पहल भइरहेको छ ।’ २०४४ सालमा स्थापना भएको अस्पतालमा हाल १५ शैया मात्र छ । दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ ।