बैशाख–१६, सामुदायिक वनमा लागेको डढेलोले पाइप जलेपछि खोटाङको डिकुवाका सर्वसाधारण खानेपानीबाट वञ्चित भएका छन् । जंगलमा लागेको डढेलोले पाइप जलेपछि पश्चिमी गाविस डिकुवा–६ र ८ का सर्वसाधारण खानेपानीबाट वञ्चित भएका हुन् । 
गत बैशाख–९ गते लागेको डढेलोले डिकुवा–८ मा पर्ने नार्चीपा मुहान भएको खानेपानी योजनाको पाइप जलेर नष्ट भएको थियो । खानेपानीको पाइप नष्ट भएपछि डिकुवा–६ छ्वङपाङका ३० घर परिवार र डिकुवा–८ का दुई दर्जन घरपरिवार खानेपानीबाट वञ्चित बनेको स्थानीय जितेन्द्र राईले जानकारी दिनुभयो । 
पाइप जलेर गाउँमा पानी आउन छाडेपछि दुबै वडाका सर्वसाधारण अहिले साँढे चार घण्टा ओ¥हालो धाएर खोल्सको पानी ल्याउन बाध्य बनेका छन् । गाउँमा पानी आउन छाडेपछि उनीहरु अहिले डिकुवा–७ र ६ मा रहेको बडहरे खोल्सीको पानी ल्याउन बाध्य बनेका स्थानीय प्रेमकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘खोल्सीको पानी लिन जान डेढ घण्टा ओ¥हालो र पानी लिएर घर आउन तीन घण्टा उकालो हिँड्नुपर्छ ।’
खोल्सीमा पनि पर्याप्त पानी नभएका कारण पालो पर्खेर पानी भर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ  । उनीहरु भन्छन्,–‘जो अगाडि पुग्छ, उसले पहिला पानी भर्न पाउँछ, ढिलो पुग्नेले पालो पर्खदा कुनै समय पानी भर्न पाउँदैनन् ।’ 
डढेलोले पाइप जलेसँगै गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि डिकुवाका सर्वसाधारणले सोमबार जिल्ला विकास समिति समक्ष सहयोगको माग गर्दै निवेदन दिएका छन् । उनीहरुले पाइप जलेको ठाउँमा नयाँ पाइप राखेर गाउँमा खानेपानीको सहज आपूर्तीको बन्दोबस्त मिलाइदिनका लागि जिल्ला विकास समितिलाई निवेदन दिएको बताएका छन् । 
जंगलबाट सल्किएको डढेलोले बैशाख–९ गते डिकुवा–८ का भैरबहादुर मगर, मेघबहादुर मगर र दलबहादुर परियारको घर नष्ट भएको थियो । डढेलोले डिकुवा–६ र ८ बाहेक छिमेकी गाविस बाहुनीडाँडाको जंगल समेत बिनास गरेको थियो ।