बैशाख–२४, जिल्लामा बहुला कुकुरको बिगबिगी बढेपछि खोटाङको जालपामा रेबिज विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । अन्य गाविसका मानिस तथा पशु चौपायलाई बहुला कुकुरले टोकेको खबर आएपछि लालिगुराँस नागरिक सचेतना केन्द्र जालपा– ९ ले निशुल्क खोप शिविर सञ्चालन गरेको हो ।
सचेतना केन्द्रले माग गरेपछि पशु सेवा केन्द्र जालपाका कर्मचारीहरुले रेबिज विरुद्घको खोप लगाइदिएको केन्द्रका प्रमुख डोरिकलाल यादवले जानकारी दिनुभयो । शिविरमा एक सय ७५ वटा कुकुरलाई खोप लगाइएको छ ।
यता, शिविर सञ्चालन हुँदै गर्दा नुन्थलामा बहुला कुकुरले दुईवटा भैंसीलाई टोकेर घाईंते बनाएको छ । नुनथला– ५ खाम्लाका धनराज राईको दुई वटा भैंसीलाई चरनको बेला बहुला कुकुरले टोकेको हो ।
अन्य बेला नटोक्ने कुकुरले अचानक चरनको भैंसीलाई टोकेको स्थानीय भीम राईले जानकारी दिनुभयो । यसअघि सदरमुकाम दिक्तेल वरपर करिब तीन दर्जन मानिस तथा पशुचौपायलाई बहुला कुकुरले टोकेर घाइते बनाएका थिए ।
टोक्ने बहुला कुकुरलाई रेबिज लागेको हो होईन भन्ने बुझ्नको लागि बाँधेर राख्दा थाहा हुने पशु सेवा कार्यालयले जनाएको छ । यदि रेबिज लागेको हो भने १०–१२ दिनमा कुकुर आफै मर्ने कार्यालयका नायव सुब्बा ध्रुब कार्कीले बताउनुभयो ।