बैशाख–२४, खोटाङका अधिकांश विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शिर्षकमा लिएको रकम फछर्यौट नगरेपछि बेरुजुमा परेका छन् । जिल्लाभरका तीन सय १३ विद्यालयले विभिन्न शिर्षकमा रकम लिएर फछ्र्यौट नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईका अनुसार जिल्लाभरका विद्यालयहरूले आर्थिक वर्ष २०६२/६३ देखि २०६८/६९ सम्म विभिन्न शिर्षकमा लिएको ११ करोड ८२ लाख ५० हजार रुपैयाँ फछ्र्यौट गरको छैन । उच्च मावि, मावि, निमावि र प्रावि तहका विद्यालयहरूले विभिन्न योजनामा निकासा गरेको रकम फछ्र्यौट नगरी फेरी रकम लिएको पाइएको हो ।
बेरुजु फछ्र्यौटका लागि जिल्ला शिक्षा कार्यालयले सम्बन्धित विद्यालयलाई पत्र पठाएको कार्यालयका लेखा अधिकृत भुवन आचार्यले जानकारी दिनुभयो । पत्रमा फछ्र्यौट नगरे विद्यालयको निकासा रोकिने उल्लेख गरिएको छ ।
शिक्षा कार्यालयबाट वितरण गरिने योजनाहरू आर्थिक कार्यविधि नियमावली विपरित पेश्कीमाथि पेश्की थपिएको देखिन्छ । वर्षेणी विकासे कार्यक्रम वितरण गरिए पनि त्यसको कार्यसम्पादन नगरी रकम दिने गलत प्रबृत्तिका कारण यस्तो भएको शिक्षा अधिकारी चापागाईले बताउनुभयो । उहाँले भन्नुभयो–‘पत्राचार गरिए्बमोजिम फछ्र्यौंट नगरे कानुनी कारबाही बढाइन्छ, अघिल्लो कार्यसम्पादन नगरी फेरी थप्ने चलनले यस्तो भएको पाइयो ।’
शिक्षा कार्यालयबाट वितरण गरिने योजनाहरू दलको भागबण्डामा गरिने भएकाले पनि यो समस्या आएको हो । ‘दलको निर्णय बिना कुनै पनि योजना वितरण गरिदैन ।’ स्रोतले भन्यो–‘योजना वितरण गर्दा पेश्की फछ्र्यौट गर्ने प्रस्ताव नआएर पनि यसो भएको हुन सक्छ ।’
योजना वितरणमा प्राय सहभागी हुने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले दलका कारण बेरुजु बाँकी नभएको बताउनुभयो । राईले भन्नुभयो–‘दललाई बदनाम गराउन पाइदैन, यसबारेमा कार्यालय जिम्मेवार बन्नु पर्छ ।’ उहाँले थप्नुभयो–‘कानुन बमोजिम कारबाही गरिनु पर्छ, दललाई दोष देखाउन थालियो भने त्यो गलत हुन्छ ।’
नेकपा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङले बेरुजु फछ्र्यौट गराउनेबारे कुनै प्रस्ताव नराखेको बताए । यसबारे एमालेले सामान्य कुरा चलाएको राईको भनाइ छ । एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष तथा पूर्व सभासद रामकुमार राई (पासाङ)ले सम्बन्धित कार्यालयले कानुनी कारबाही गर्नु पर्ने बताउनुभयो । राईले भन्नुभयो–‘हामी राजनीतिक संरक्षण गर्दैनौं, कसैले तलमाथि गरे हामी छाड्दैनौं ।’