बैशाख–२९, खोटाङको हलेसीस्थित प्रहरीचौकीको भवन उदघाटन गरिएको छ । शान्ति तथा पुनः निर्माण मन्त्रालय शान्ति कोष सचिवालयको सहयोगमा निर्माण गरिएको छुट्टाछुट्टै तीन वटा भवन सोमबार उदघाटन गरिएको हो । शान्ति कोषको सहयोगमा सञ्चालित ‘प्रहरी इकाई पुनः निर्माण आयोजना’ अन्तरगत दोश्रो चरणमा निर्माण गरिएको प्रहरी चौकीको भवन पुर्वाञ्चल प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक नवराज सिलवालले उदघाटन गर्नुभएको हो । 
कोषको ८९ लाख ५६ हजार ७९३ को लागतमा ७ कोठे कार्यालय, तीन वटा हल भएको महिला तथा अपांगमैत्री ब्यारेक र तीन कोठे भान्छा घर निर्माण गरिएको प्राबिधिक तथा प्रहरी नायब उपरिक्षक रामकुमार चौधरीले बताउनु भयो । २०६९ साल जेठ १७ गते सम्झौता भएको भवन निर्माणका काम गत चैत्र मसान्तमा सम्पन्न भएको थियो । कुल बजेटको २६.६६ प्रतिशत कम खर्चमा तीन वटा भवन निर्माणको काम सकिएको प्राबिधिक तथा प्रहरी नायब उपरिक्षक चौधरीको भनाई छ । सशस्त्र द्धन्द्ध कालमा ध्वस्त बनेको १२ वर्षपछि निर्माण गरिएको नवनिर्मित भवनमा एट्याच ट्वाइलेट र वाथरुमको व्यवस्था छ । 
नवनिर्मित भवन परिषरमा तारको घेराबारा हाल्नकालागि स्थानीयले एक लाख ५० हजार बराबरको श्रमदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक गोबिन्दकुमार शाहले जानकारी दिनु भयो । हलेसीस्थित प्रहरी चौकीको भवन द्धन्द्धको समयमा तत्कालिन माओबादीले २०५९ सालमा ध्वस्त बनाएको थियो । 
भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वाञ्चल प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सिलवालले प्रहरी र नागरिकको एकताले मात्र समाज र देश संबृद्धशाली बन्ने बताउनु भयो । प्रहरी संगठभित्र आन्तरिक शुद्धीकरणको अभियान थालेको बताउदै सिलवालले प्रहरी संगठनभित्र हुने दुव्र्यवहार, आर्थिक लेनदेनका विषयमा जानकारी दिने व्यक्तीलाई पुरस्कृत गर्ने बताउनु भयो । सिलवालले जीवनलाई सार्थक बनाउनकालागि हरेक नागरिकले अहिले सत्कर्ममा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
‘ढाँटेर, छलेर तत्कालकालागि टन्न धनसम्पत्ती जोड्न सकिएला तर भविष्यमा त्यसले कसैलाई फाइदा गर्दैन,’ प्रहरी नायब महानिरिक्षक सिलवालले भन्नुभयो, ‘बरु मेहनत गरौँ, अहिल्यैबाट राम्रो काम गरौँ, अनि मात्र हाम्रो जीवनले सार्थकता पाउँछ ।’