बैशाख–३०, लोपोन्मुख वन्यजन्तु तथा बहुमुल्य जडीबुटी व्यापक रुपमा चोरी निकासी हुन थालेपछि नियन्त्रणका लागि वन उपभोक्ता महासंघले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले जिल्लाका सामुदायिक तथा निजी वन क्षेत्रबाट विभिन्न कम्पनीको नाममा लोपोन्मुख वन्यजन्तु, खयर, खोटो तथा बहुमुल्य जडीबुटी चोरी निकासी हुन थालपछि मंगलबार प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटालाई ज्ञापन–पत्र बुझाउँदै तत्काल नियन्त्रण गर्न माग गरेको हो । 
लोपोन्मुख वन्यजन्तु तथा बहुमुल्य जडीबुटी चोरी निकासी भइरहँदा समेत सम्बन्धित निकायले चासो नदिएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ खोटाङले नौं बुदे ज्ञापन–पत्र सहित दोषीलाई कारबाही र सम्बन्धित निकायमा पुगेको क्षतीको पुर्ती तत्काल उपलब्ध गरिनुपर्ने माग गरिएको छ । महासंघका अध्यक्ष राजेन्द्र राईले हस्ताक्षर गर्नुभएको ज्ञापन–पत्रमा वन माफिया, तस्कार, भ्रष्ट कर्मचारी, वन समूहकै केही पदाधिकारीलगायतलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने, प्राकृतिक श्रोत र वातावरणीय क्षेत्रमा भएको आक्रमण तत्काल नियन्त्रण गरिनुपर्ने,  आईएलओ महासन्धी १६९ को व्यवस्था अनुसार स्थानीय निकायको ईजाजत तथा पहुँच हुनुपर्ने, वन ऐन विपरित वन पैदावार तथा लोपोन्मुख वन्यजन्तु चोरी निकासी पूर्णरुपमा नियन्त्रण गरिनुपर्ने, वन उद्यम सञ्चालन गर्न अव्यवहारिक नीतिका कारण असंभव भएकाले व्यवहारिक नीति निर्माणका लागि नीति संसोधन गरिनु पर्नेलगायतका माग राखिएको छ । 
महासंघले उठाएका माग व्यक्तिगत नभइ जीवन र जगतको भएकाले सम्बन्धित सबैले ध्यान दिनुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ । ज्ञापन–पत्रमा भनिएको छ, –‘यदि आफूहरुको माग तत्काल पूरा नभए कडा आन्दोन गर्न बाध्य हुनेछौं ।’
जिल्लाका विभिन्न क्षेत्रबाट लोपोन्मुख वन्यजन्तु तथा वन पैदावार चोरी निकासी भइरहेको खबर आफूहरु समक्ष समेत आएको जिल्ला वन अधिकृत विश्वमणि आचार्यले बताउनुभएको छ । यसबारे जिल्ला प्रशासन र सुरक्षा निकायलाई समेत जानकारी गराएको उहाँको भनाइ छ । 
जिल्लाका विभिन्न क्षेत्रमा पाइने रेडपाण्डा, कालो भालु, रतुवा, सालक, लाटोकोसेरो, हुच्चिललगायतका वन्यजन्तु चोरी निकासी भइरहेको स्थानीयको भनाइ छ । वन्यजन्तु चोरी निकासी गर्नेहरुका लागि जिल्लाको लेकाली क्षेत्रमा पर्ने घना जङ्गल अनकन्टारमा पर्ने भएकाले पनि चोरी निकासी बढेको फेदीका धनकुमार राईले जानकारी दिनुभयो । 
यसबारे जिल्लास्थित प्रहरीलाई समेत थाहा भएको र चोरी सिकारीसंगै बसेर मासु समेत खाएर फर्किएको श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि र वन कर्मचारीकै मिलेमतोमा चोरी निकासी हुने गरेको पाइएको छ ।