जेष्ठ–२, खोटाङमा खम्बूवान राष्ट्रिय मोर्चा नेपालको अध्यक्षमा तुलसी तिलुङ खम्बू चयन भएका छन् । मोर्चाको बिहीबार सम्पन्न तेश्रो जिल्ला अधिबेशनबाट तिलुङ मोर्चाको जिल्ला अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।
५२ सदस्यीय जिल्ला कमिटिको बरिष्ठ उपाध्यक्षमा एनआर खम्बू, उपाध्यक्षमा माधव खम्बू, सचिवमा गुणराज खम्बू, सहसचिवमा मेखुमायाँ राई र कोषाध्यक्षमा जोतिन्द्र खम्बू चयन भएका छन् । अधिबेशनले कृष्णमायाँ राईको अध्यक्षतामा ११ सदस्यीय नारी मोर्चा, जिआर खम्बूको अध्यक्षतामा ११ सदस्यीय युवा मोर्चा र लेखराज राईको अध्यक्षतामा ११ सदस्यीय विद्यार्थी मोर्चा गठन गरेको खम्बूवान राष्ट्रिय मोर्चाले जनाएको छ ।
मोर्चाले जातीय ऐतिहाँसिक पृष्ठभूमीको आधारमा संघीय राष्ट्र निर्माणको माग गर्दै पुर्वी नेपालमा संघर्ष गर्दै आएको छ । मोर्चाका तत्कालीन अध्यक्ष पिके खम्बू नेतृत्वको जिल्ला कार्यसमिति संघीय समाजवादी पार्टीमा विलय भएर गएको लामो समयपछि गत चैत्र–२३ गते मोर्चाको जिल्ला कार्य समिति पुनर्गठन गरिएको थियो ।
यसैबीच, खम्बूवान राष्ट्रिय मोर्चा नेपालले उपेक्षित र उत्पीडित समुदायको हकहित र भावनालाई संविधानमा लिपिबद्ध नगरिए निर्णयक आन्दोलन गर्ने बताएको छ । देशका सदियौं वर्षदेखि उपेक्षा र उत्पीडनमा परेका जातजाती, वर्ग र समुदायको हकहित, अधिकार भावनालाई संविधानमा नसमेटिए निर्णायक आन्दोलन गर्ने मोर्चाले जनाएको हो ।
मोर्चाका केन्द्रीय सचिव भूपी कोयीले सबैलाई प्रतिनिधित्व गर्ने संविधान नबने सदन र सडक आन्दोलन गर्ने तयारी गरेको बताउनुभयो ।