जेष्ठ–४, खोटाङमा जेठी श्रीमती कारागारमा रहेकोबेला दोश्रो बिवाह गर्ने श्रीमान पक्राउ परेका छन् । जेठी श्रीमती प्रमिला राई जिल्ला कारागार शाखा दिक्तेलमा राखिएको अवस्थामा दोश्रो बिवाह गर्ने मौवाबाटे–६ का भूमीराज राई पक्राउ परेका हुन् । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षकालागि कारागार चलान भएकी २६ वर्षिय जेठी श्रीमती प्रमिलाले दिएको उजुरीका आधारमा भूमीराज र कान्छी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो । 
ज्यान मुद्धामा कारागार चलान भएपछि बिदेशबाट फर्किएका श्रीमानले गत फागुन–१४ गते साउनेचौंर–१ की रमिला खत्रीसँग दोश्रो बिवाह गरेको भन्दै प्रमिलाले गत फागुन २९ गते जेलबाटै उजुरी दिनुभएको थियो । आफु जेल चलान भएपनि घर व्यवहार सम्हाल्न र बालबच्चाको हेरचाह गर्नुको सट्टा श्रीमानले बिदेशबाट फर्किएलगत्तै दोश्रो बिवाह गरेर अन्याय गरेको प्रमिलाको उजुरीमा उल्लेख छ । सामाजिक परम्परा अनुशार २०६३ सालमा बिवाह गरेका प्रमिला र भूमीराजको एक छोरी र एक छोरा छन् । श्रीमान बिदेशमा रहेकै समयमा प्रमिला कारागार चलान हुनुभएको थियो । 
गत माघ–१ गते आफैमाथि बलात्कार गर्न खोजेको आरोपमा कुटपिट भएका जेठाजु दिलकुमार राईको मृत्यु भएपछि प्रमिला पक्राउ पर्नुभएको थियो । घटनाको दोश्रो दिन पक्राउ परेका प्रमिलालाई जिल्ला अदालत खोटाङले माघ–२८ गते पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो ।