जेष्ठ–४, गणतन्त्र दिवशको अवसरमा खोटाङमा अहिलेसम्मकै ठूलो धन राशीको खुल्ला पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । कर्मचारीको आन्दोलनमा सहभागीता जनाउनेक्रममा २२ वर्षअघि ज्यान गुमाएका सदरमुकाम दिक्तेलका मनोज जोशीको स्मरणमा दिक्तेलमा प्रथम सहिद मनोज जोशी स्मृति खुल्ला पुरुष फुटवल प्रतियोगिता गर्न लागिएको हो ।
मनोज जोशी स्मृति प्रतिष्ठान र रुपाकोट फुटवल क्लवको संयुक्त आयोजनामा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । यस्तै उपविजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ, तेश्रो समुहले ३३ हजार ३ सय ३३ रुपैयाँ र सान्त्वनाले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै अन्य विभिन्न विद्याका उत्कृष्ट खेलाडिहरुले पनि ५ हजार ५ सय ५५ रुपैयाँका दरले पुरस्कार पाउने आयोजक समितिका सचिव दिलिप तामाङले वताए । प्रतियोगीता ‘श्रदाका फुलहरु शहिद मनोजप्रति अर्पण, खेल मैदान निर्माणमा हरेक गोल समर्पण’ भन्ने नाराका साथ आगामि जेठ १३ गते देखि १७ गते सम्म स्थानीय माटिकोरे खेल मैदानमा संचालन हुने तामाङले जनाए ।
सचिव तामाङका अनुसार खेलको विकास, शहिद मनोजको स्मरण, माटिकोरे खेलमैदानको मर्मत गर्दै युवाहरुको एकता र आत्मीयाताको विकास गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो । २०४८ साल साउन–१५ गते बुधबार नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । जिल्ला स्तरिय काराँते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको र राष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागीताकालागि छनौट भएका जोशी सानैदेखि खेलकुद, सांस्कृतिक एवं सामाजिक काममा सक्रिय थिए ।