जेष्ठ–५, मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका खोटाङका एक कर्मचारी कार्यालयबाटै पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरेर कार्यालय गएका जिल्ला विकास समितिको कार्यालय खोटाङमा कार्यरत खरिदार चन्द्रमणी आचार्य आईतबार पक्राउ परेका हुन् । 
मादक पदार्थ सेवन गरेर कार्यालय गएको सुचनाका आधारमा आचार्यलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका आचार्यलाई स्वास्थ्य परीक्षण गरेर त्यसको रिपोर्ट सम्बन्धित कार्यालयमा बुझाइने प्रहरी निरीक्षक रमेश देवले जानकारी दिनुभयो । 
यसअघि, मादक पदार्थ सेवन गरेर कार्यालय पुगेका जिल्ला प्रशासन कार्यालयका खरिदार कर्णाखर आचार्य पनि गत शुक्रबार पक्राउ परेका थिए । आचार्यलाई स्वास्थ्य परीक्षण गरी सुध्रनका लागि चेतावनी दिएर छाडिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई बिभागीय कारबाहीका लागि स्वास्थ्य परीक्षणको रिपोर्ट सम्बन्धित कार्यालयमा दिइने प्रहरी निरीक्षक देवको भनाइ छ । पछिल्लो समय मादक सेवनलाई नियन्त्रण गर्ने उद्देश्यका साथ सम्भावित ठाउँहरुमा प्रहरी गस्ती परिचालन गरिएको छ ।