जेष्ठ–७, दृष्टिबिहिन भएको परिचयपत्र नहुँदा खोटाङका एक छात्र कक्षा–११ को परीक्षा दिनबाट वञ्चित भएका छन् । विश्वज्योति उच्च मावि लामीडाँडाबाट कक्षा–११ को परीक्षा दिइरहेका सारदा उच्च मावि खार्पाका छात्र सोमकुमार मगर नेपाली विषयको परीक्षा दिनबाट वञ्चित भएका हुन् । 
सहयोगी राखेर परीक्षा दिँदै आएका मगरलाई केन्द्राध्यक्ष चन्द्रनारायण यादवले ‘अपांगता भएको परिचयपत्र देखाउन वा आफै परीक्षा दिन’ भनेपछि परीक्षा दिनबाट वञ्चित भएको सारदा उच्च मावि खार्पाका शिक्षक गोपाल बस्नेतले जानकारी दिनुभयो । गत जेठ–१ गतेदेखि शुरु भएको कक्षा–११ को परीक्षा अन्तरगत अंग्रेजी र शिक्षा विषयको परीक्षा दिइसकेका मगरलाई नेपाली विषयको परीक्षाका दिन ‘सहयोगी नराख्न वा परिचयपत्र देखाउन’ भनेपछि मगर परीक्षा दिनबाट वञ्चित भएको शिक्षक बस्नेतको भनाइ छ ।
ब्रेललिपीका माध्यमबाट लेखपढ गर्ने छात्रलाई परिचयपत्र खोजेर परीक्षा दिनबाट वञ्चित गराइएको मगरका अभिभावकले आरोप लगाएका छन् । गत सोमबार कक्षा–११ को नेपाली विषयको परीक्षा सञ्चालन भएको थियो । नेपाली विषयको परीक्षा छुटे पनि हाल जिल्ला शिक्षा कार्यालय खोटाङले दिएको सिफारिसको आधारमा छात्र मगरले सहयोगी राखेर अन्य विषयको परीक्षा भने दिइरहेका छन् । परीक्षा दिनबाट वञ्चित मगरले छुटेको विषयको पनि परीक्षा दिन पाउनुपर्ने माग गरेका छन् ।