जेष्ठ–१४, गणतन्त्र दिवसको अवसरमा खोटाङमा अहिलेसम्मकै ठूलो धन राशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । कर्मचारीको आन्दोलनमा सहभागिता जनाउनेक्रममा २३ वर्षअघि ज्यान गुमाएका सदरमुकाम दिक्तेलका मनोज जोशीको स्मरणमा दिक्तेलमा बुधबारदेखि सहिद मनोज जोशी स्मृति प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७१ शुरु भएको हो । 
शहिदको सम्मान गर्दै खेल मैदान निर्माणका लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका संयोजक कुमार आचार्यले जानकारी दिनुभयो । मनोज जोशी स्मृति प्रतिष्ठान र रुपाकोट फुटबल क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगिता पुर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष किरण राईले उद्घाटन गर्नुभएको थियो । 
आयोजक रुपाकोट फुटबल क्लवका १४ वर्षमुनिका समुहको ‘प्रदर्शनी खेल’ खेलाएर उद्घाटन गरिए पनि समय अभावका कारण प्रतियोगी समुहबीचको खेल भने हुन सकेन । प्रतियोगीताको पहिलो खेल बिहिबार बिहान ७ बजेबाट दुर्छिम र बाम्राङबीच हुने आयोजकले जानकारी दिएको छ । 
दिक्तेलको माटिकोरे खेल मैदानमा शुरु प्रतियोगिताका विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने, उपविजेताले ६६ हजार छ सय ६६ रुपैयाँ, तेश्रो हुने समुहले ३३ हजार तीन सय ३३ रुपैयाँ र सान्त्वनाले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै अन्य विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुले पनि पाँच हजार पाँच सय ५५ रुपैयाँका दरले पुरस्कार पाउने आयोजक समितिका सचिव दिलिप तामाङले बताउनुभयो । 
‘श्रदाका फुलहरु शहिद मनोजप्रति अर्पण, खेल मैदान निर्माणमा हरेक गोल समर्पण’ भन्ने नाराका साथ शुरु गरिएको प्रतियोगीतामा दुर्छिम, बाम्राङ, हौंचुर, दिक्तेलको सोल्मा, जबरजङ् गण, दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कुल, रतन्छा, खार्मी, दोर्पाचिउरीडाँडा, जालपा, दिक्तेल बजार सामाजिक गुठी लगायतका १४ टिमको सहभागीता रहेको छ । सचिव तामाङका अनुसार खेलको विकास, शहिद मनोजको स्मरण, माटिकोरे खेलमैदानको मर्मत गर्दै युवाहरुको एकता र आत्मीयाताको विकास गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।