जेष्ठ–१७, क्षेत्रीय समिति खारेजीको माग गर्दै कांग्रेस खोटाङका असन्तुष्ट नेताहरुले पार्टी केन्द्रीय कार्यालय रिले अनसन शुरु गरेका छन् । पार्टीको विद्यान बिपरित क्षेत्र नम्बर–२ को क्षेत्रीय समिति गठन गरिएको भन्दै कांग्रेसका असन्तुष्ट नेताहरुले सो क्षेत्रीय समिति खारेजीको मागमा शुक्रबार बिहानदेखि केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका हुन् ।
पूर्व वनराज्यमन्त्री शिवकुमार बस्नेतको नेतृत्वमा जिल्ला सदस्य पञ्चुकुमार राई, शरणकुमार राई, पार्टीका पूर्व उपसभापति राजन दाहाल, क्षेत्रीय सदस्य कर्णबहादुर राउत, खोटाङबजार गाविसका पूर्व गाविस अध्यक्ष कमलप्रसाद फुयाँल, क्षेत्रीय प्रतिनिधि कबिराज राई लगायतका कांग्रेस नेताहरुले रिले अनसन थालेका हुन् । तीन दिनसम्म १२ घण्टा र चार दिन २४ घण्टाको हुने रिले अनसनलाई माग पूरा नभए आमरण अनसनमा परिणत गरिने असन्तुष्ट समुहका कांग्रेस नेता भूपेन्द्र राईले जानकारी दिनुभयो ।
कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले पार्टीको विद्यान बिपरित तिर्थराज भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको असन्तृष्ट पक्षको आरोप छ । संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालिन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त रहेको पदमा विधि र विद्यान बिपरित पदाधिकारी चयन गरिएको कांग्रेस महासमिति सदस्य महेन्द्र कट्वालले आरोप लगाउनुभयो ।
उनीहरुले पार्टीको बिधि र विद्यान विपरित काम गरेको भन्दै जिल्ला सभापति राईको बर्खास्तीको माग समेत राखेका छन् । कांग्रेस सभापति राईले भने संविधानसभाको निर्वाचनमा अन्तरघात गरेपछि पार्टीको कारबाहीमा परेका व्यक्तिहरुको नेतृत्वले अनसन थालेको बताउनुभयो । संविधानसभाको निर्वाचनका समयमा आफ्नै उम्मेदवारलाई हराउन लागी परेका समुहले काठ्माडौंमा पुगेर ‘गाइजात्रा’ देखाउने काम गरेको सभापति राईको भनाइ छ । अनसनमा उत्रेका धेरैजसो नेताहरु अन्तरघातको आरोपमा पार्टीको कारबाहीमा परेकाहरु छन् ।
कांग्रेसले बागी उम्मेदवार दिएका क्षेत्रीय अध्यक्ष, प्रस्ताबक र समर्थकलाई साधारण सदस्य समेत नरहनेगरी पाँच वर्षका लागि निष्कासित गरेको छ, भने अन्तरघात गरेको आरोपमा पूर्व वनराज्यमन्त्री बस्नेत सहित १७ जना नेताहरुको क्रियासिल सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।