जेठ–२३, छुट्टाछुट्टै ठाउँमा परेको चट्याङमा परी खोटाङमा तीन जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो पानीसँगै परेको चट्याङमा परी मात्तिम–९ का ३३ वर्षीय यज्ञप्रसाद फुयाँल, १७ वर्षीय नवराज फुयाँल र वाप्लुखा–६ का ४८ वर्षीया विष्णुकुमारी राई गम्भीर घाइते भएका हुन् ।
उनीहरुमध्ये यज्ञप्रसादको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । साहका अनुसार उनको शरीरमा कुनै चोट नदेखिए पनि बेहोस अवस्थामा रहेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि हेलीकोप्टर चार्टर गरेर अन्यत्र लैजाने तयारी भइरहेको छ ।
अन्यको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको स्थानीयले जानकारी दिएका छन् । स्यानीयका अनुसार नवराजको हातमा गहिरो चोट लागेको छ भने, विष्णुकुमारीको टाउकोमा चोट लागेको छ ।
प्रहरीका अनुसार यज्ञप्रसाद र नवराज बाख्रा चराउन स्थानीय गिद्धे सामुदायिक वन गएको समयमा चट्याङमा परेका हुन् । विष्णुकुमारी भने घरैमा बसिरहेको अवस्थामा चट्याङमा परेकी हुन् ।