टेनिस रोका/टिप्पणी

तस्बीरः फाइल
पूर्वस्वास्थ्य मन्त्री गिरिराज पोखरेल, विरेन्द्र केसरी पूर्वराज्यमन्त्रीहरु सर्वधन राई, शिव बस्नेत, नेताहरुमा अशोक राई, अर्जुन राई लगायत राष्ट्रिय तथा जिल्लामा स्तरका सयौंलाई खोटाङले जन्माएको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल खोटाङका हुन् । विश्लेषक हरि रोका यहीँबाट हुर्किए । पूर्व सशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत यहीँ जन्मिए । नेपाल पत्रकार महासंघका अहिलेका सभापति डा. महेन्द्र विष्ट खोटाङकै पानी पिएर हुर्किए । पत्रकारिता विधाका प्राध्यापक प्रवलराज पोखरेल खोटाङकै हुन् । आदी ।
ब्यूरोक्र्यासीको कुरो गरी सक्नु छैन, नेपाल सरकारका सचिव माधव घिमिरेसहित दर्जनको संख्यामा त सचिव नै थिए/छन् अन्य साना तिना पोष्ट छाडौं । पब्लिक फिगरमा खोटाङ हाई हाई नै छ । राजेश पायल राई, धिराज राई, महेश खड्का, वीरेन्द्र राई, नबल खड्का लगायत राष्ट्रिय स्तरका कलाकारको नाम गनेर सकिने अवस्था छैन ।
तर बिडम्बना, त्यहीँ सबैको जन्मभूमी खोटाङबाट यसवर्ष ४ हजार ३१ जना परीक्षाले एसएलसी परीक्षा दिँदा मात्र ४८५ जनाले पास गरेका छन् । र पनि माथि नाम लिएका र त्यो सुचिमा लिन योग्यहरु कानमा तेल हालेर बस्दै आएका छन् । यो वर्ष जिल्लाका ९० मावि परीक्षामा सामेल हुँदा ११ वटाले त निल नै खाए । चार वटा त दोस्रो पटक निल खानेमा दोहोरिए ।
गत वर्ष १८.४६ प्रतिशत विद्यार्थी पास भएकोमा यो वर्ष १२.५ प्रतिशत मात्रै पास भए । अघिल्लो पटक १५ वटा मावि निल खाएकोमा यो वर्ष पनि ११ वटा निलको सिकार बने ।
यति धेरै विद्यार्थी किन फेल भए ? सजिलै आउने प्रश्न हो ‘राज्यको गलत नीति’ । एक अर्थमा त हो पनि– राज्यको अहिलेको शिक्षा नीतिकै कारण अबौँ लगानी गर्दा पनि ५० प्रतिशत पनि विद्यार्थी पास भएका छैनन् । खोटाङका लेखक तथा विश्लेषक हरि रोका शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको पूर्ण दायित्वमा पर्ने भएपनि राज्यको वेवास्ता रहेको बताउँछन् । ‘राज्यले विद्यालयहरुको नियमन गर्नुपर्नेमा त्यसो भएकै पाइदैन’ उनी भन्छन्, ‘पढ्ने पढाउने वातारण कस्तो छ यो बारे राज्य बेखबर जस्तै छ, कति विद्यार्थी पढ्छन्, कसरी पढीरहेका छन् उनीहरुलाई पढ्ने वातावरण कसरी बनाउने भन्ने विषयमा राज्यले ध्यान दिएकै पाइदैन ।’ नतिजा सुधार्ने भए, नियमित पढाई, विद्यालयहरुको नियमित अनुगमन, सुलभ पाठ्यपुस्तक उपलब्धता, ग्रामिण विद्यार्थीलाई आकर्षक पार्ने शिक्षा नीति आवश्यक पर्ने उनको तर्क छ ।
खोटाङमा शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सइन्द्र राई नियमित पढाई नहुनुले नै विद्यार्थीहरु बढी फेल भएको बताउँछन् । उनी प्रश्न गर्छन– ‘सरकारी करिकुलम नै ३६५ दिनमा १८० दिनको छ । त्यो पनि पूरै हुँदैन । अनि कसरी बढी विद्यार्थी पास हुन्छन् त ?’
यसरी लज्जास्पद संख्यामा विद्यार्थी उत्तिर्ण भईरहँदा पनि खोटाङका राजनीतिक दलको भूमिका पनि उत्तिनै रहन्छ । दिनभर जिल्ला शिक्षा कार्यालयमा घुरेर निदाउने कर्मचारी होस् या अन्य सम्बन्धित ठाउँमा खै त उनीहरुले घचघचाएको ? जसहरुलाई जिम्मेवार ठानिएको हुन्छ, भरोसा उनैमा छाडिएको हुन्छ उनीहरुले कुरा उठाउन नसक्दा यस्तो भएको हो ।
अझ फेलको जिम्मेवारी त सबैभन्दा बढी शिक्षकले लिनैपर्छ विद्यालयको जिम्मा त उनीहरुको काँधमा हुन्छ । ग्रामिण भेगमा नियमित पढाई नै हुन्न । पाठ्यपुस्तक कहिल्यै पूरा हुन्न । पढाईको गुणस्तरता झाँलीटाँली उनीहरुबाटै हुन्छ । यस्तो अवस्थामा उनीहरु उम्कनै मिल्दैन ।
अभिभावकहरु त नतिजा कम आउनुका भागीदार मात्रै होइनन्, मुख्य दोषी नै हुन् भन्दा फरक पर्दैन । विद्यार्थीको पहिलो पाठशाला नै घर हो । तर, उनीहरुलाई अभिभावकबाट विद्यालय नै पठाइदैन । घरमा पढ्ने फुर्सद दिदैनन् । अनि छोराछोरी फेल भयो भनेर उल्टै गाली गरिन्छ ।
अब खोटाङमा नतिजा सुधार गर्ने नै भए, अभिभावकले नियमित आफ्ना छोराछोरीलाई स्कुल पठाउनै पर्छ अनि घरमा पनि पढ्ने वातारण बनाईदिन आवश्यक छ । शिक्षकले नियमित पढाउन पर्छ, पढाई सिकाईमा गुणस्तरता दिनैपर्छ । नियमित पढाई भयो भएन, कस्तो पढाई भईरहेको छ, कति पढीरहेका छन्, कसरी पढीरहेका छन् भनेर शिक्षा कार्यालयका कर्मचारी दगुर्नैपर्छ । राजनीतिक दल। सभाषद तथा प्रतिष्ठित व्यक्तित्वहरुले आफ्नो जिल्लामा शिक्षा क्षेत्रमा बजेट बढी पार्नका साथै सचेतनामूलक कार्यक्रममा अग्रणी भूमिका खेल्नैपर्छ ।
नत्रभने, प्रतिष्ठित हजारौं व्यक्तित्वहरु हुर्किएको खोटाङका विद्यार्थी भाई बहिनाहरु अहिल्यै झैं शैक्षिक सिकार बनिरहनेछन् ।