असार–८, क्षेत्रीय सभापतिको रिक्त पदपूर्तीका विषयमा भएको लामो विवाद समाधानका लागि नेपाली कांग्रेस खोटाङले क्षेत्रीय अधिबेसन गर्ने भएको छ । कांग्रेस क्षेत्र नम्बर–२ को सभापतिको रिक्त पदपूर्तीका विषयमा पार्टीभित्र चर्किदै गएको विवाद समाधानका लागि कांग्रेस जिल्ला कार्य सम्पादन समितिले असार–२२ गते क्षेत्रीय कार्य समितिको अधिबेसन गर्ने निर्णय गरेको हो । 
रिक्त रहेको क्षेत्रीय सभापतिमा तिर्थराज भट्टराईलाई चयन गरेपछि पार्टीभित्र बढ्दो आन्तरिक कलह हल गर्नका लागि कांग्रेसले अधिबेसनको बाटो अपनाएको जनाएको छ । संबिधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका विरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नम्बर–२ का तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि सिम्पानीमा गत माघ–१६ र १७ गते आयोजना गरिएको क्षेत्रीय भेलामार्फत कांग्रेसले भट्टराईलाई रिक्त सभापति पदमा चयन गरेको थियो । 
तर भेलाले विधान विपरित क्षेत्रीय समिति गठन गरेको भन्दै जिल्ला सदस्य एवम् संगठन बिभाग प्रमुख भूपेन्द्र राई सहितका ३० बढि नेताहरुले बिरोध सुरु गरेका थिए । भट्टराई सभापति रहेको वर्तमान क्षेत्रीय समितिको पक्ष र विपक्षमा सुरु भएको द्वन्द्वलाई अधिबेसनमार्फत हल गर्ने निर्णय गरिएको कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राईले जानकारी दिनुभयो । 
क्षेत्रीय समिति खारेजी र अधिबेसनको मागमा भूपेन्द्र नेतृत्वको समुहले केन्द्रीय कार्यालयमा सुरु गरेको रिले र आमरण अनसनलाई केन्द्रीय निर्वाचन समितिले ‘अधिबेसन गराउने’ शर्तमा तोडाएको थियो । क्षेत्रीय सभापति चयनमा बिमती जनाउँदै जिल्ला सदस्य एवम् संगठन बिभाग प्रमुखबाट राजीनामा दिएका राईको अगुवाईमा जेठ–१६ गतेदेखि २४ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालय अगाडि रिले अनसन बसिएको थियो ।
जेठ–२५ गतेदेखि सुरु राईको आमरण अनसन केन्द्रीय निर्वाचन समितिले तीन दिनपछि तोडाएको थियो । कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले विधान विपरित भट्टराईको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको आरोप लगाउँदै भूपेन्द्र सहितका दर्जनौं नेताहरु असन्तुष्ट बनेका छन् ।