असार–११, रपार्टी महिला सञ्जाल खोटाङले विद्यालयमा तहगतरुपमा महिला शिक्षकको व्यवस्था गर्न माग गरेको छ । छात्रभन्दा छात्राको संख्या बढि रहेको जिल्लामा सञ्जालले महिलामैत्री सिकाईका लागि विद्यालयका हरेक तहमा महिला शिक्षकको व्यवस्था गर्न माग गरेको हो ।
जिल्ला शिक्षा कार्यालयमार्फत मंगलबार ज्ञापनपत्र पठाउँदै सञ्जालले प्रावि, निमावि र मावि तहमा ‘एक तह एक शिक्षीका’को अनिवार्य व्यवस्था गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइएको सञ्जालकी अध्यक्ष बिमला राईले बताउनुभयो । शिक्षा सेवा आयोगमार्फत नयाँ शिक्षक नियुक्ती गर्नेकाक्रममा कनिष्ठताको नाममा कार्यरत महिला शिक्षीकालाई नहटाउन तथा हरेक तहमा महिला शिक्षीकाको व्यवस्था गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका कुल विद्यार्थीको ५२ प्रतिशत छात्राको संख्या रहेको जिल्ला शिक्षा कार्यालयको फ्लास वान–२०७० को तथ्यांक प्रस्तुत गर्दै सञ्जालले महिलामैत्री सिकाईका लागि महिला शिक्षीकाको व्यवस्था गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । शिक्षामा महिलाको भूमिका अभिबृद्धि एवम् महिलामैत्री पठन–पाठनका लागि विद्यालयमा महिला शिक्षीकाको उपस्थिति अनिवार्य बढाउन आवश्यक रहेको पुर्वसभाषद तथा सञ्जाली सचिव दुर्गाजयन्ती राईले बताउनुभयो ।
हाल जिल्लामा प्राबि तहमा २२.३ प्रतिशत, निमाबि तहमा १२ र माबि तहमा ४.५ प्रतिशत मात्र महिला शिक्षीका कार्यरत छन् । शिक्षा बिभाग र क्षेत्रीय शिक्षा निर्देशनालयमा बोधार्थ पठाइएको ध्यानाकर्षणपत्रमा सञ्जालले मागलाई बेवास्ता गरिए कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।