असार–१३, खोटाङमा एक विद्यालयका प्राचार्यसहित शिक्षकहरुले एक छात्रलाई मरनासन्न हुने गरी कुटपिट गरेका छन् । दोर्पाचिउरीडाँडा–९ घर भइ हाल विद्योद्धय उच्च माविको कक्षा–९ मा अध्ययनरत छात्र १४ वर्षीय रोशन राईलाई सोही विद्यालयका प्राचार्य मनकाजी राई, शिक्षकहरु भीम गुरागाइँ, राधाकृष्ण पोखरेल र मनोज राईले निर्घाद कुटपिट गरेका हुन् । 
टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट समेत लाग्नेगरी कुटिएका छात्र रोशनको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको उनका बुबा प्रेमकुमार राईले बताउनुभयो । उहाँका अनुसार कुटपिटपछि रगत समेत छादेका रोशनको अवस्था चिन्ताजनक रहेको छ । पीडितका अनुसार रोशनमाथि आठ गते कुटपिट भएको हो । रोशनका बुबा भन्नुहुन्छ,–‘घटना ठूलै भएपनि मिलापत्र हुन्छ भनेर बाटो हेरियो, हालसम्म कोही नआएपछि कानूनी कारबाहीको लागि प्रक्रिया थालिएको छ ।’
शिक्षकहरुको सामूहिक कुटाईबाट छोरा गम्भीर बनेपछि उनका अभिभावकले दोषीमाथि कारबाही र पीडितको उपचार तथा क्षतिपूर्तीको माग गर्दै प्रहरी, शिक्षा लगायतमा उजुरी दिएका छन् । बिना कारण कुटपिट गर्ने शिक्षकहरु विरुद्ध कडाभन्दा कारबाही र पीडितको उपचार तथा क्षतिपूर्तीको माग गर्दै उनका बुबा प्रेमकुमारले उजुरी दिएका हुन् । 
जिल्ला प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, मानवअधिकार आयोग लगायतमा दिएको उजुरीमा भनिएको छ,–‘शिक्षकहरुले कुटपिट गरेर छोराको होस नै गुमेको छ, त्यसैले दोषीलाई तत्काल कारबाही र पीडितको उपचार तथा क्षतिपूर्ती दिलाई दिन अनुरोध गर्दछु ।’ 
प्रेमकुमारले दिएको उजुरीमा उनका छोरा रोशनलाई चारैजनाले लाठी, मुङ्ग्री, रबरको पाईप, हातखुट्टा लगायतले कुटपिट गरेको उल्लेख छ । रोशनका साथीहरुका अनुसार शिक्षकहरुको कुटाईबाट उनले चार पटक रगत छादेका थिए । उनीहरु भन्छन्,–‘हाम्रै कक्षाकी करुणा विश्वकर्मा विरामी भएर ढलेपछि सरहरुलाई खबर गर्न रोशन गएका थिए, उल्टै मरनासन्न हुनेगरी कुट्नु भएछ ।’
यसबारे जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापाइँले घटनामा संलग्न शिक्षकहरुलाई कारबाही हुने बताउनुभयो । उहाँले भन्नुभयो,–‘शिक्षा नियमावली, ऐनकानून तथा सन्धीमहासन्धीमा कुनै पनि बालबालिकालाई शारीरिक यातना दिन पाइँदैन, यदि त्यसो हो भने, उनीहरुमाथि कारबाही हुन्छ ।’