असार–१८, लगातारको भारी वर्षाका कारण खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा उडान बन्द भएको छ । सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने विमानस्थलमा लगातारको वर्षाका कारण धावनमार्ग हिलाम्मे र खाल्डाखुल्डी बनेकाले नेपाल वायु सेवा निगमले उडान बन्द गरेको हो ।
हिलोका कारण हवाइजहाजको पाङ्ग्रा भासिने खतरा बढेपछि नेपाल बायु सेवा निगमले ‘मनसुनी फ्लाइट’ बन्द गरेको निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले जानकारी दिनुभयो । मनसुन अवधिभर बन्द रहने विमानस्थलमा आगामी भदौ अन्तिम वा असोज पहिलो हप्तादेखि मात्र नियमित उडान सुचारु हुने इन्चार्ज राईले जानकारी दिनुभयो ।
खानीडाँडामा हरेक आईतबार, मंगलबार र शुक्रबार उडान भर्दै आएको निगमको अन्तिम उडान सोमबार भएको थियो । खानीडाँडामा उडान भर्दै आएको तारा एयरलाइन्सले पनि वर्षाको कारण गत मंगलबारदेखि उडान बन्द गरेको छ । कालोपत्रे नहुँदा खानीडाँडा विमानस्थलमा रहेक वर्ष ‘मनसुनी उडान’ बन्द हुने गरेको छ । उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीहरु सबैभन्दा बढि कर्मामा परेका छन् ।
यसैबीच, वर्षाका कारण खानीडाँडाको उडान कटौती गरेको निगमले लामीडाँडा विमानस्थलमा आफ्नो उडान थप गरेको छ । खानीडाँडामा हरेक हप्ताको आईतबार, मंगलबार र शुक्रबार हुने उडानलाई कटाएर लामीडाँडामा थप गरिएको स्टेशन इन्चार्ज राईले जानकारी दिनुभयो ।
यसअघिसम्म हरेक हप्ताको बुधबार र शनिबार उडान हुँदैआएको लामीडाँडामा अव आइतबार, मंगलबार, शुक्रबार र शनिबारका दिन उडान हुने निगमले जनाएको छ ।