असार–१८, पूर्वी नेपालमा भूमिगत गतिविधि सञ्चालन गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीका एक कार्यकर्तालाई अदालतले सफाइ दिएको छ । खोटाङको प्रहरीचौकी आक्रमण, रिपिटर टावर आगजनी तथा चन्दा उठाएको आरोपमा पक्राउ परेका किरात जनवादी वर्कर्स पार्टीका केन्द्रीय सचिव हङ्सराज राईलाई जिल्ला अदालत खोटाङले सफाइ दिएको हो । 
प्रहरीचौकी लुटपाट, रिपिटर टावर आगजनी गरेको र अवैध चन्दा उठाएको आरोपमा पक्राउ गरी मुद्धा चलाइएका खोटाङको बाँझेच्यानडाँडा–८ का राईलाई जिल्ला अदालते सफाइ दिएको हो । हाल वर्कर्स सरकारसँगको वार्ताको चरणमा रहेको भन्दै कार्यकर्ता राईलाई सफाइ दिएको अदालतले जनाएको छ । 
हातहतियार तथा खरखजना मुद्दामा जेल मुक्त भएको केही दिनपछि पुनः अर्को मुद्दामा पक्राउ परेका राई गत बैसाख ३ गते तारेखमा रिहा भएका थिए । हातहतियार सहित भोजपुरमा पक्राउ परेका र बिराटनगर कारागारबाट कैंद भुक्तान गरेर चैत्र–२८ गते कारागारमुक्त भएका राई पुनः प्रहरीचौकी आक्रमण तथा लुटपाट मुद्धामा चैत्र ३० गते मोरङबाटै पक्राउ परेका थिए । 
२०६७ वैशाख–२१ गते जिल्लाको नुनथला प्रहरीचौकी तथा २०६४ माघ–७ गते फाक्टाङ, देविस्थान र चिसापानी प्रहरीचौकी आक्रमण गरी हातहतियार तथा वन्दोवस्तीका समान लुटेको र तथा ०६७ चैत–७ गते काहुले हुम्मापोखरीस्थित नेपाल टेलिकमको रिपिटर टावरमा आगजनी गरेको आरोप लागेका राईलाई प्रहरीले सोही मुद्दामा दोश्रो पटक पक्राउ गरेको थियो ।