असार–१९, जिल्लाका कृषकहरु चिराइतो खेतिप्रति आकर्षीत भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मुल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षीत भएका हुन् । 
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने पाथेका, खार्मी, फेदी, खार्ताम्छा, बाकाचोल, ऐसेलुखर्क लगायतका कृषकहरु यतिखेर यस खेतिप्रति बढि लागी परेका छन् । मेरुङ कृषि सहकारी संस्था र मेरुङ समाज नेपालको पहलमा पाथेका–१ र २ तथा फेदी–९ को केलासी र पिपिङमा कृषकहरुले व्यवसायिक रुपमै चिराइतो खेति लगाएका छन् । 
खार्मीको विभिन्न ठाउँमा गरी ५० रोपनीभन्दा बढि जग्गामा चिराइतो खेति लगाइएको छ भने, जिल्लाका अन्य धेरै कृषकले सामूहिक तथा व्यक्तिगत रुपमा चिराइतो खेति लगाएका छन् । बहुसरोकारवाला वन परियोजनाले जिल्लाका विपन्न वर्गका कृषकहरुको जीविकोपार्जनका लागि ३५ हेक्टर जमिनमा चिराइतो खेति गर्न बिउ खरिद गरिदिएको छ भने, कतिपयले आफै खरिद गरेर खेति शुरु गरेका छन् । 
जडीबुटीका रुपमा प्रयोग हुने चिराइतो खेतिको सम्भाव्यताको अध्ययनपछि सामुहिकरुपमा खेति गरिएको मेरुङ समाज नेपालका अध्यक्ष बम बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘लेकाली क्षेत्रमा पर्ने बाँझो जग्गालाई उपयोग गर्दै कृषकहरुको जीवनस्तर उकास्ने उद्देश्यले व्यवसायिक रुपमै चिराइतो खेति शुरु गरिएको हो ।’
बानियाँका अनुसार उक्त समूहमा आवद्ध ११ घरका किसानहरुको सहभागितामा पाथेकाको २० रोपनी र फेदीको १५ रोपनी जग्गामा व्यवसायिक चिराइतो खेति लगाइएको छ । अध्यक्ष बानियाँ भन्नुहुन्छ,–‘जङ्गली जनावरले दुःख नदिने भएकाले छिमेकी गाविसहरुमा पनि बिस्तार गर्ने तयारी गरेका छौं ।’ 
घरैबाट प्रतिकिलो सात सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने चिराइतो खेति प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका बारेमा जानकारी पाएपछि चिराइतो खेति गर्ने कृषकहरुको संख्या जिल्लामा ह्वात्तै बढेको छ । 
जिल्लामा उत्पादित चिराइतो धनकुटा, धरान, बिराटनगर, भारत लगायतका ठाउँहरुमा निर्यात हुने गरेको छ । सम्बन्धित बिक्री केन्द्रमा पु¥याउँदा राम्रो मूल्य पाउने भएपछि लेकाली क्षेत्रका कृषकहरु यसप्रति आकर्षीत भएको अध्यक्ष बानियाँको भनाइ छ ।