असार–१९, राहत शिक्षक संघर्ष समिति खोटाङले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । महँगी भत्ता उपलब्ध गराउनुपर्ने, दुर्गम भत्ता पाउनुपर्ने, पोसाक भत्ता उपलब्ध गराउनुपर्ने, शिक्षा नियमावलीमा राहत शिक्षकका बारेमा उल्लेख गरिनुपर्ने लगायतका माग गर्दै राहत शिक्षक संघर्ष समितिले शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आफ्ना माग पूरा नभएको भन्दै संघर्ष समितिले जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेको जनाएको छ । शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा गत बैसाख–२३ गतेका शिक्षा मन्त्रालयको प्रतिनिधिको टोली, पेशागत संगठनका अध्यक्ष एवम् राहत शिक्षक संघर्ष समिति काठमाडौंबीच भएको चार बुँदे सहमती कार्यान्वयन नभएको बिरोधमा तालाबन्दी गरिएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रबिन सुनुवारले बताउनुभयो ।
राहत शिक्षकहरुले शिक्षा कार्यालयमा ताला लगाएपछि बुधबार दिनभर कामकाज ठप्प भएको थियो । राहत शिक्षक संघर्ष समितिले अनिश्चित कालका लागि भन्दै शिक्षा कार्यालयमा लगाएको ताला प्रहरीले खुलाएको थियो ।