असार–२३, नेपाली काग्रेस खोटाङको क्षेत्रीय अधिबेशनमा पूर्व वन राज्यमन्त्री लगायत कारबाहीको सिफारिसमा परेका नेता कार्यकर्तालाई अधिबेशन स्थल प्रवेशमा रोक लगाएको छ । काग्रेस खोटाङ क्षेत्र नम्बर–२ को रिक्त क्षेत्रीय सभापति चयनका लागि आईतबार भएको अधिबेशनमा पार्टीको निर्णय मिचेको भन्दै पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत लगायत अन्य नेता कार्यकर्तालाई अधिबेशन स्थल प्रवेशमा रोक लगाएको हो ।
अधिबेशनमा मतदान गर्न मतदानस्थल पुगेका पूर्व वन राज्यमन्त्री बस्नेतका बिरुद्ध नेवि संघका कार्यकर्ताले नारावाजी गर्दै निर्वाचन स्थल प्रवेशमा रोक लगाएको थियो । आफ्ना पक्षका कार्यकर्तासहित मतदानस्थल पुगेका बस्नेत समर्थक र नेवि संघबीच झडप हुने सम्भावना भएपछि सुरक्षाकर्मीले सम्भावित घटनालाई नियन्त्रणमा लिएको थियो ।
संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका बिरुद्ध बागी उम्मेदवार उठाएर असहयोग गरेको आरोपमा बस्नेत लगायत १७ जना नेता कार्यकर्तालाई जिल्ला कार्य समितिले कारबाहीको सिफारिस गरेको थियो । कारबाहीको सिफारिसमा परे पनि केन्द्रीय कार्यसमितिले अनुमोदन नगरेको भन्दै निर्वाचन मण्डलले उनीहरुको मतदान गर्ने अधिकार रहेको बताएको छ ।
भोटरलिष्टमा नाम हुँदाहुँदै निर्वचनमा सहभागी हुन नदिएकोमा उनीहरुले आपत्ति जनाएको छ । यसबारे उनीहरु पार्टीको निर्णय प्रक्रियामा नआइ बल प्रयोग गर्न खोजेकाले विद्यार्थीहरुले पनि प्रतिकार गरेको जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अधिबेशनका लागि जिल्ला कार्यसमितिले एउटा नम्स बनाएको छ, त्यसमा छिरेर आउनुपर्नेमा बल मिचाइ गरेकाले प्रवेशमा रोक लगाइएको हो ।’ कडा सुरक्षाकर्मीको घेराबन्दीमा भएको कांग्रेस खोटाङको क्षेत्रीय अधिबेशनमा क्षेत्रीय सभापति पदका लागि तिर्थराज भट्टराई र भूपेन्द्र राईको उम्मेदवारी परेको छ । मध्यान्ह १२ बजेबाट शुरु भएको निर्वाचनमा कूल तीन सय २८ मतदातामध्ये एक सय ६९ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।
निर्वाचनमा दुवै उम्मेदवारले जित आफ्नो हुने दावी गरेका छन् । भट्टराईलाई जिल्ला सभापति विष्णुकुमार राई पक्षको समर्थन छ भने, राईलाई पूर्व वनराज्यमन्त्री बस्नेत पक्षको समर्थन छ । काग्रेसको अधिबेशनलाई लक्षित गर्दै शनिबारदेखि दिक्तेलबजारका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीभित्र विवाद देखिएकाले झडप हुने सम्भावना हुँदा सुरक्षा व्यवस्था कडा पारिएको हो ।’
बागी उम्मेदवार दिएको र अन्तरघात गरेको भन्दै उनीहरुलाई कांग्रेस जिल्ला कार्य समितिले कारबाहीका लागि केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको थियो । अधिबेशन सम्पन्न गर्नका लागि केन्द्रीय निर्वाचन प्रतिनिधिकारुपमा अधिवक्ताद्वय चन्द्रमणि अधिकारी र विश्वास आचार्य खोटाङ आएका छन् ।
यसैवीच, पार्टीभित्रको बढ्दो आन्तरिक विवादका कारण महासमिति सदस्य महेन्द्र कटवालले पदबाट राजीनामा दिएका छन् । खोटाङ कांग्रेस बैचारिक तथा निष्ठावान नेता कार्यकर्ताबाट अलग भएको भन्दै महासमिति सदस्य कटवालले पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस जिल्ला कार्य समितिमा राजनैतिक, बैचारिक र नैतिक स्खलन चुलिएका कारण महासमिति सदस्य कट्वालले विज्ञप्तीमार्फत राजीनामाको घोषणा गरेको बताएका छन् । कटवालले खोटाङ कांग्रेस योगदान गरेका, त्याग गरेका र इतिहास बोकेका कार्यकर्ताबाट अलग बन्दै गएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।