असार–२३, कडा सुरक्षाकाबीच सम्पन्न कांग्रेस खोटाङको क्षेत्रीय अधिबेशनबाट क्षेत्रीय सभापतिमा तिर्थराज भट्टराई निर्वाचित भएका छन् । दुई पक्षबीच झडपकास्थितिका बाबजुध आईतबार भएको अधिबेशनमा सभापतिका प्रत्यासी भूपेन्द्र राईलाई हराउँदै भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । 
क्षेत्र नम्बर–२ का कूल मदतादाता संख्या तीन सय २८ तथा खसेको एक सय ६९ मतमध्ये भट्टराईले ८४ र राईले ७२ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचनमा १३ मत बदर भएको थियो । 
भट्टराईलाई कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई र राईलाई पूर्व वनराज्यमन्त्री शिवकुमार बस्नेत पक्षको समर्थन थियो । संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका विरुद्ध बागी उम्मेदवार दिने क्षेत्र नम्बर–२ का तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि सो पदका लागि निर्वाचन भएको हो । 
रिक्त रहेको क्षेत्रीय सभापतिमा भट्टराईलाई चयन गरिएपछि पार्टीभित्र बढ्दो आन्तरिक कलह हल गर्नका लागि कांग्रेसले अधिबेशनको बाटो अपनाएको कांग्रेसका जिल्ला सदस्य प्रेमकुमार राईले बताउनुभयो । तत्कालीन सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी निष्कासित भएपछि सिमपानीमा गत माघ १६ र १७ गते आयोजना गरिएको क्षेत्रीय भेलामार्फत कांग्रेसले भट्टराईलाई रिक्त सभापति पदमा चयन गरेको थियो । 
विधान विपरित क्षेत्रीय समिति गठन गरेको भन्दै तत्कालीन जिल्ला सदस्य एवम् संगठन बिभाग प्रमुख भूपेन्द्र राई सहितका नेताहरुले बिरोध गरेका थिए । उनीहरुको बिरोधपछि जिल्ला कार्य समितिले गरेको निर्णय उल्टिएको थियो । अधिबेशनमा पूर्व वनराज्यमन्त्री बस्नेत लगायतका नेता कार्यकर्तालाई मतदान स्थल प्रवेशमा रोक लगाइएको छ । संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै पूर्व वनराज्यमन्त्री बस्नेत सहित देवेन्द्र बस्नेत, देवि राई, शरणकुमार राई, खेम खड्का लगायतलाई मतदानस्थल प्रवेशमा रोक लगाएको हो ।
मतदान गर्न दिक्तेलको सरस्वति निमावि पोखरीस्थित मतदानस्थल पुगेका उनीहरु विरुद्ध पार्टी सभापति समूहका कार्यकर्ताहरुले नाराबाजी गर्दै निर्वाचनस्थल प्रवेशमा रोक लगाएका हुन् । मतदानस्थलमा प्रवेश गर्न नपाएपछि बस्नेत समूह मतदान नगरी फर्किएका थिए । 
संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विष्णुकुमार राईका विरुद्ध बागी उम्मेदवार उठाएर असहयोग गरेको आरोपमा बस्नेत लगायत १७ जना नेता कार्यकर्तालाई जिल्ला कार्य समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । केन्द्रीय कार्यसमितिले कारबाहीको सिफारिसलाई अनुमोदन नगरेको भन्दै उनीहरुलाई निर्वाचन मण्डलले मतदान गर्ने अधिकार दिएको थियो । 
काग्रेसको अधिबेशनलाई लक्षीत गर्दै शनिबारदेखि दिक्तेलबजारका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभएको छ । सम्भावित झडप नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको उहाँको भनाइ छ । 
यसैबीच, पार्टीभित्रको बढ्दो आन्तरिक बिवादका कारण कांग्रेस महासमिति सदस्य महेन्द्र कटवालले पदबाट राजीनामा दिएका छन् । खोटाङ कांग्रेस बैचारिक तथा निष्ठावान नेता कार्यकर्ताबाट अलग भएको भन्दै महासमिति सदस्य कटवालले पदबाट राजीनामा दिएका हुन् ।
कांग्रेस जिल्ला कार्य समितिमा राजनैतिक, बैचारिक र नैतिक स्खलन चुलिएका कारण महासमिति सदस्य कट्वालले विज्ञप्तीमार्फत राजीनाको घोषणा गरेको बताएका छन् । कटवालले खोटाङ कांग्रेस योगदान गरेका, त्याग गरेका र इतिहास बोकेका कार्यकर्ताबाट अलग बन्दै गएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।