दिक्तेल

टेनिस रोका

असार । आर्थिक वर्ष २०७१/७२ को बजेट आइतबार साँझ सार्वजनिक भएको छ । अर्थविद्हरुका अनुसार निक्कै महत्वकाक्षी रु छ खर्ब १८ अर्ब १० करोडको उक्त बजेटले खोटाङबासीलाई प्रभावित र लाभान्वित हुने कुनै पनि कुरा उठाएको छैन ।
गएको आर्थिक वर्षको बजेटमा सामान्य मात्रै रकम निकासा गरिए पनि यो पटकको बजेटमा भने त्यो पनि पाइएको छैन । बजेटले गएकै वर्षको हलेसी दिक्तेल सडकखण्ड कालोपत्रे गरिने भन्ने वाक्यलाई दोहोर्याएर खोटाङबासीलाई मुखमा बुझो लगाउने काम मात्र गरेको छ ।
शहरी पूर्वाधार तथा खानेपानी, पर्यटन, स्थानीय विकास, सिचाई, जलविद्युत लगायत कुनै पनि पक्षलाई लिएर खोटाङको नाम बजेटले लिन सकेको छैन ।

खोटाङको हलेसी महादेवस्थान ।

पर्यटनको सवालमा हलेसी महादेव तथा ट्याम्के लगायत विभिन्न ठाउँमा बजेट बोल्नुपर्नेमा मौन रहेको छ । यसैगरी, एयरपोर्टको संरक्षण तथा सुधारमा थुप्रै कार्य गर्नुपर्ने भएपनि बजेटले हेला गरेको छ ।

सडक तथा पूर्वाधारमा पनि बजेटले खोटाङवासीलाई वास्ता नगरेको आइतबार साँझ अर्थमन्त्रीको बजेट भाषणबाट स्पष्ट हुन जान्छ ।
पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान जिर्णोद्धार संरक्षणका लागि तथा निक्कै रकम खर्चिसकेको भोजपुर र खोटांगको सिमानामा पर्ने ट्याम्के भ्यू टावरको निर्माणका लागि पनि बजेटले केही पनि बोलेको छैन । पूर्वप्रधानमन्त्री समेत बनिसकेका एमाओवादी नेता डा. बाबुराम भट्टराई स्वयमले ट्याम्के भ्यू टावरको उदघाटन गरेपनि अहिले उक्त टावर निर्माण कार्य रकम अभावकै कारण पूर्ण रुपमा बन्द भएको छ ।
स्वास्थ्य, शिक्षा, विद्युत, पर्यटन, विपन्नता लगायत थुप्रै विषयमा बजेटबाट खोटांगले सम्बोधनको आशा गर्दै आएपनि पूरा भने हुन सकेको छैन ।

जनताका प्रतिनिधि सभाषदहरुले उचित समयमा खोटांगको समस्याहरु सम्बन्धित ठाउँमा पुर्याउन नसक्दा खोटांग र खोटांगबासीले राज्यबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुँदै आउनु परेको हो ।
सभाषदहरुले बजेटमा खोटाङका विषयहरु समेट्न आग्रह तथा अनुरोध नगर्दा वर्षौदेखि खोटाङ पछाडी पर्दै आएको छ ।
खोटाङ स्वास्थ्य, शिक्षा, खानेपानी, यातायातमा निक्कै पछाडी पारिएको जिल्लामा पर्दछ । यसैवर्षको एसएलसीको नतिजामा ४ हजार ३१ जना परीक्षाले एसएलसी परीक्षा दिँदा मात्र ४८५ जनाले पास गरेका थिए । अर्थात गत वर्ष १८.४६ प्रतिशत विद्यार्थी पास भएकोमा यो वर्ष १२.५ प्रतिशत मात्रै पास भएका थिए ।
यस्तै, सामान्य भन्दा केही मात्रै जटिल बिरामी भएमा पनि खोटाङबासीले हजारौं खर्च गरेर उपचारका लागि हेलिकप्टर नै चार्टर गरी राजधानी काठमाडौं आउनुपर्ने बाध्यता रहँदै आएको छ ।
यस्तो अवस्थामा पनि जनप्रतिनिधि भनिने सभाषदहरु भने आफ्नो जिल्लाका लागि गर्नुपर्ने भूमिकाबाट टाटिदैं आएका छन् ।

हलेसीबाट दिक्तेल जाने क्रममा बाटोबाट देखिने दृश्य ।

दिक्तेलबाट हलेसी आउने क्रममा सडकबाटो, बाटो नजिकैका घर ।

हलेसी दिक्तेल सडकखण्डमा गाडी हिलो सडकबाटोमा भासिएपछि सहचालक बाटो बनाउँदै ।