साउन–७, जिल्लामा श्रृंखलावद्ध हत्या र लुटपाटमा संलग्न एक युवालाई जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गरेको छ ।
खोटाङ, उदयपुर र सुनसरीका चार महिलाको गरगहना र नगद लुटपाट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका दिक्तेल नगरपालिका–५ बाम्राङका २७ वर्षीय गईन्द्र राईलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गत असार–१९ गते माइती जाँदै गरेकी विजयखर्क–३ का ४४ वर्षीय नर्वदा ढकालको हत्या गरी तीन तोला सुनको गरगहना, पाँच हजार नगद र एक थान नोकिय मोबाईल लुटेको, असार–१० गते सुनसरीको इटहरी नगरपालिका–२ का ६५ वर्षीय जीतशोभा राईको गरगहना लुटपाट गरी हत्या गरेको, जेठ–२९ गते राती बाम्राङ–५ भैरमायाँ राईको हत्या गरी ७ तोला सुनको गरगना र नगद ७ हजार लुटपाटमा संलग्न रहेको प्रमाणका आधारमा राईलाई पक्राउ गरिएको खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । यस्तै, जेठ–७ गते उदयपुरको पोखरिय–८ की ६१ वर्षीय साबित्रा मगरको हत्या गर्नमा समेत राईको संलग्नता पूष्टि भएको प्रहरीले जनाएको छ ।
श्रृंखलावद्ध रुपमा एकान्त स्थानमा हिँडडुल गर्ने महिलाको हत्या गर्दै गरगहना लुटपाट गर्नमा संलग्न राईलाई प्रहरीले साउन–३ गते उदयपुरको त्रियुगा नगरपालिका–२ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले विजयखर्ककी नर्वदा ढकालको घाँटी थिचेर हत्या गर्न प्रयोग गरेको साडी, थैली र फुटेको चुरा सहित सार्वजनिक गरेको छ ।
घटनामा संलग्न अन्य व्यक्तीहरुको पनि पहिचान भइसकेको र उनीहरुलाई चाँडै पक्राउ गरिने प्रहरीले जनाएको छ । चार महिलाको हत्याको प्रकृति एकै किसिमको पाइएको प्रहरी नायब उपरिक्षक साहले जनाउनुभयो ।
२०६८ साल भदौमा खोटाङको रतन्छाकी एक महिलाको सुनको सिक्री लुटेपछि २३ महिना जेल जीवन बिताएर निस्किएका राईले त्यस यता लुटपाटकालागि महिलाको हत्या नै गर्ने गरेको पाइएको प्रहरी नायब उपरीक्षक साहले बताउनुभयो । लुटीसकेपछि ज्यूँदो नछाड्ने रणनिती अपनाएको राई सहितको समुहले प्रायः गरगहना लगाएर एकान्त ठाउँमा हिँड्ने महिलालाई तारो बनाएको भेटिएको प्रहरीले बताएको छ । महिलालाई लुटेर हत्या गर्ने गरेका कारण दोषीलाई पहिचान गर्न समस्या र ढिलाइ भएको साहले बताउनुभयो ।