साउन–१०, ‘बोलबम’ मेलाको अवसरमा पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी र पर्यटकीयस्थल बाराहापोखरीमा दर्शनार्थीको भीड लागेको छ । साउनभर लाग्ने बोलबम मेलाको अवसरमा जिल्लाको प्रमुख धार्मीक एवम् पर्यटकीयस्थल हलेसी र बाराहापोखरीमा दर्शनार्थीको बाक्लो भीड लागेको हो ।
गत सोमबारदेखि सुरु भएको बोलबम मेलाको अवसरमा पैदल तथा यातायातका सवारी साधनमार्फत हलेसी आउने दर्शनार्थीको घुइँचो लागेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्षहरुमा भन्दा यस वषै दोब्बर दर्शनार्थीको भीड लागेको छ ।’
जिल्लाको दक्षिणी गाविस बाराहापोखरीस्थित बाराहापोखरीमा पैदल यात्रामार्फत आएका दर्शनार्थीको पनि उत्तिकै भीड लागेको छ । हलेसी र बाराहापोखरीमा साउनभरी हरेक सोमबारका दिन ठूलो मेला लाग्ने गरेको छ ।
बोलबम मेलाको अवधिमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरधन राईका अनुसार अहिले दैनिक हजारदेखि दुई हजार दर्शनार्थीले हलेसीमा दर्शन गर्ने गरेका छन् ।
मनोकांक्षा पूरा हुने विश्वासमा हलेसी र बाराहापोखरीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसी र बाराहापोखरीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेव, पार्वती र गणेशलाई नदीको जल चढाउने प्रचन छ ।
बोलबमको अवसरमा हलेसी आएका दर्शनार्थीका कारण हलेसीका साना तथा ठूला होटलहरु भरिएका स्थानीय शिक्षक सन्देश नाछिरिङले बताउनुभयो । साउन लागेयता हलेसी र बराहपोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रंगको पहिरनमा सजिएका पुरुषको चहलपहल छ ।
सामुहिकरुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको संख्या पनि उत्तिकै देखिन्छ । तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको अध्यक्ष राईको भनाइ छ ।