साउन–१४, जिल्लामा उत्पादित तरकारीमा कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका छन् । बन्दा, काउली, गोलभेडा लगायतका मौषमी तथा बेमौषमी तरकारी कुहिन थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।
खेतबारीमा व्यवसायीरुपमा लगाइएको बन्दा र काउलीको डाँठ, फल र बोटको पूरै भाग कुहिएपछि लाखौंको क्षति भएको कृषकहरुको भनाइ छ । दिक्तेल नगरपालिका–११ स्थित प्रगतीशिल महिला समुहमा आवद्ध खड्गबहादुर कटवाल, बालाराम कटवाल, सरला राई, कल्पना कटवाल, मिठुमायाँ कटवाल लगायतका किसानले लगाएको ग्रीन कोरोनेट जातको बन्दा र अन्नपूर्ण नब्बे जातको काउली कुहिएको छ ।
यसअघि फल कुहिने समस्य देखिने गरेको भएपनि बोट नै नष्ट भएको पहिलो भएको किसान सरला राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकहीँ फल त बिग्रिन्थ्यो, तर यसरी बोट नै बिग्रिएको अहिलेसम्म थाहा थिएन, आफूले लगाएको तरकारी बिनास भएको देख्दा काम जाँगर नै मरेर आउँदो रहेछ ।’
स्थानीय हाट बजारमा बन्दा प्रतिकेजी ५० र काउली प्रतिकेजीमा ६० रुपैयाँमा किनबेच हुन्छ । प्रायः जिल्लाका बेँसी क्षेत्रमा लगाइएका अधिकांश तरकारी बालीमा कुहिने समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ ।
सुरुमा डाँठबाट कुहिन थालेपछि क्रमशः पूरै भाग बिग्रीने गरेको कृषकहरुको भनाइ छ । रोगका कारण कुहिएको बन्दा र काउली गाईवस्तुले समेत नखाने प्रगतीशिल महिला समुहकी सचिव कल्पना कट्वालले बताउनुभयो ।
दिक्तेलकै किसान डिजे शेर्पाका अनुशार फल कुहिने समस्य गोलभेँडामा समेत देखिएको छ । बन्दा, काउली र गोलभेँडामा देखिएको समस्याका कारण स्थानीय हाटबजारमा तरकारीको अभाव सुरु भएको उपभोक्ताको भनाइ छ । छिनछिनमा वर्षा र छिनछिनमा घाम अर्थात ‘ड्याम्पिङ अफ’का काउली र बन्दा कुहिने समस्या देखिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक कौशलकुमार साहले बताउनुभयो ।
कार्यालयका अनुसार जिल्लाको नुनथला, लफ्याङ, खाल्ले, बाम्राङ, दिक्तेल, याम्खा लगायतका जिल्लाको एक हजार हेक्टर क्षेत्रफलमा काउली खेती गरिन्छ छ भने, नौं सय हेक्टर क्षेत्रफलमा बन्दा खेती गरिन्छ ।