साउन–१४, वैदेसिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली कामदार लुटेराको चपेटामा पर्ने गरेका छन् । स्थानीय अराजक युवा र कहिलेकहीँ प्रहरीकै तारोमा पर्ने गरेको मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिले चोरले लुट्ने, कहिले कोठा फोरीदिने, कहिले बाटो छेकेर कुट्ने र लुट्नेजस्ता कार्य मलेसियामा काम गरिरहेका नेपालीको प्रमुख पीडा हो, आफ्नो ज्यानलाई भन्दा कामलाई प्यारो ठानेर हिँड्नुपर्ने बाध्यता छ ।’ 
शेर्पाका अनुसार मलेसियाको सेलेङ्गोर राज्यको बेरनाङ्स्थित स्वीट ड्रिम कम्पनीमा कार्यरत धनुषाका रामनरेश शर्मा र महेन्द्रकुमार नाम गरेका नेपाली कामदार लुटेराको समुहबाट लुटिएका छन् । आइएमी गरेर नेपालमा पैसा पठाएर कोठातर्फ फर्कनेक्रममा शर्मा तीन÷चार जनाको समुहमा रहेको लुटेरा समुहबाट सेरेम्वान बसपार्कमा लुटिएका हुन् । 
कुटपिट गर्दै लुटेराहरुले शर्माको साथबाट नगद, बैंक कार्ड र पैसा पठाएको सेन्डिङ एमाउण्ट पेपर लुटेर लगेका थिए । सोही कम्पनीमा कार्यरत महेन्द्रकुमार पनि होस्टल नजिक लुटिएका थिए । सिमेनिया नजिकैको केसुमा बजारबाट साग सब्जी किनेर फर्कनेक्रममा महेन्द्रको साथबाट चार जना लुटेराहरुले चार सय आरएम, दुई थान नोकिय मोबाइल र सिएसएल मोबाइल लुटेर भागेका थिए । 
कम्पनीमा काम गर्न गएको मौका पारेर मलेसियाको बातुकेपस्थित होस्टेलबाट नेपाली कामदारको नगद, बैङ्कको एटिएम कार्ड लगायत तीन थान मोवाइल चोरी भए । लुटेराले होस्टलको गेट र ढोका फोडेर चोरी गरेको विषयमा जानकारी गराउँदा कम्पनीले बेवास्ता गरेको कामदार बुद्धी तामाङले बताउनुभयो । 
यी त केही उदाहरणहरु मात्र हुन् । पछिल्लो एक वर्षको अवधिलाई मात्र हेर्ने हो भने मलेसियमा दर्जनौं नेपालीहरु लुटेराबाट लुटिएका छन् । 
कम्पनीमा कार्यरत आईडी कार्ड र सरकारी मान्यता प्राप्त भिषा देखाउँदा समेत कहिलेकहीँ मलेसिया प्रहरीले जर्बजस्ती धम्काउने, कुट्ने र लुट्ने गरेको कामदारहरुको भनाइ छ । 
गत चैत्र–७ गते रामेछाप रामपुर–७ का कुमार मोक्तान प्रहरीबाटै लुटिएको उनको भनाइ छ । प्रहरीबाट लुटिएका मोक्तान तत्काल नेपाल फर्की सकेका छन् । 
सल्यानका देबराज खत्रीलाई पनि प्रहरीले मलेसिया पुगेको चार महिना नबित्दै बाटोबाटै बाईकमा उठाएर एकान्तमा लगे र पैसा, मोबाईल लुटेर भागेका थिए । खत्री पाँच घण्टापछि कम्पनीको सम्पर्कमा आएका खोटाङ सेवा समाज मलेसियाले जनाएको छ । 
मलेसियामा पुगेर संगठीत बनेका नेपाली कामदारहरुका अनुसार मलेसियामा दैनिक पाँच वा सोभन्दा बढि कामदारहरु लुटिने र कुटिने गरेका छन् । मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको मलेसियामा भाषाको समस्यका कारण नेपाली कामदारहरुले समस्य झेल्नु परेको शेर्पाको भनाइ छ । शेर्पाले भने, ‘नेपाली कामदारहरुको समस्याको प्रमुख जड नै भाषा हो, भाषा नजानेपछि कहिले कम्पनीको सुपरभाईजर त कहिले ‘बोस’को गाली खाँदै काम गर्नुपर्ने बाध्यता छ ।’ 
कामदारहरुको न्युनतम मासिक तलब नौं सय आरएम पु¥याइएपछि पछिल्लो समय मलेसिया  जाने बिदेशी कामदारहरुको सँख्या ह्वात्तै बढेको छ । धन कमाउने र परिवारलाई सुख शयलका साथ राख्ने सपनामा कैयौँ नेपाली युवायुवती मलेसिया पुगेका छन् । तर लुटपाट र कुटपिटका कारण मेनपावर र एजेण्टलाई दुई लाखसम्म बुझाउन तयार भएर मलेसिया पुगेका कैयौँ नेपाली कामदारको सपना भने भताभुंग बनीरहेको दिक्तेलस्थित सुरक्षित आप्रबासन परियोजना सुुचना केन्द्रका कार्यक्रम संयोजक नविन्द्र राईले बताउनुभयो । संयोजक राईले भन्नुभयो, ‘हामीलाई आधिकारिकरुपमा उजुरी त आएको छैन, तर मलेसियामा लुटेराबाहेक प्रहरीबाटै कामदारहरु लुटिएको कैंयौँ उदाहरणहरु सुनेका छौँ ।’