सुनकोसी आसपासमा नबस्न र नजान प्रशासनको आग्रह

साउन १७ । पहिरोले भोटेकोसी नदी थुनिएपछि खोटाङको १४ गाविसका २५ गाँउ तथा बस्तीलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको बा¥हबिसेमा जोडिएको राम्चे–५ स्थित जुरेमा खसेको पहिरोले थुनिएर भोटेकोमा जमेको पानीका कारण हुन सक्ने खतरालाई मध्यनजर गर्दै नदीको दायाँबायाँबाट दुई सय मिटर क्षेत्रभित्र पर्ने गाउँ तथा बस्तीलाई संटकग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

सिन्धुपाल्चोकमा थुनिएको नदी ।

सम्भावित दुर्घटनाबाट जनधनको सुरक्षाका लागि शनिबार बसेको जिल्ला दैवीप्रकोप उद्दार समितिको आकस्मिक बैठकले सुनकोसी आसपासका बाहुनीडाँडाको कुर्लेघाट, डिकुवाको टारगाउँ, चारबोटे, डिकुवाको बाईटार र राईघाट, च्यास्मीटारको बालुङमारी, दुर्छिमको हैदे, धितुङको भाडबेँसी गाउँलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यस्तै, राजापानीको भाडबेँसी, गोडेलीघाट र रेग्मीटार, लिच्कीराम्चेको रमाइलो, टेम्कुटार र रसुवाघाट, बराहपोखरीको भोर्लेनी, सुन्तलेको धाप्लाङ, फाक्टाङको मांसिङ्टार, मालबासे र अर्नाटार, पौवासेराको पानीटार तथा देविस्थानको बुवाजोरघाट, बुवाँबाँध र मैनटारलाई संकटग्रस्त क्षेत्रकोरुपमा सिफारिस गरिएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको समितिको बैठकले समस्या हल नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोष्ट खडा गरेको छ । विपद व्यवस्थापनका लागि जिल्ला आपतकालीन उद्धार केन्द्रलाई थप क्रियासिल रहन भनिएको छ । समितिले सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै नेपाली सेना, शसस्त्र तथा जनपथ प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । यस्तै, सम्भावित दुर्घटनाको सामना गर्नकालागि रेडक्रस, खाद्य संस्थान, अस्पताल, गैरसकारी संघसंस्था, राजनैतिक दल, पत्रकार लगायतलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।

सम्भावित दुर्घटनाबाट धनजनको सुरक्षाका लागि प्रशासन, जिल्ला विकास समिति, सेना, प्रहरी लगायतले संकटग्रस्त क्षेत्रका सर्वसाधारणलाई फोनमार्फत सुरक्षित स्थानमा सर्नकालागि आग्रह गरिरहेका छन् । खतराको सुचना पाएका नदी किनारका गाउँमा बसोबास गर्दै आएका खोटाङका सर्वसाधारण अहिले बन्दोबस्तीका सामान सहित सुरक्षित स्थानमा सर्नेक्रम जारी छ ।

यसैबीच, नदीको पानी खोलिएर आउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि सचेत रहन सर्वसाधारणलाई सचेत गराएको छ । सर्वसाधारणलाई खाद्यान्न, मूल्यवान सम्पत्ती, बन्दोबस्तीका सामान, घरपालुवा पशुपन्छीलाई सुरक्षित स्थानमा सार्न र आफु पनि सुरक्षित रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । प्रशासन र प्रहरीले स्थानीय सञ्चारमाध्यमबाट सुचना जारी गर्दै खतरा कायम रहेसम्मका लागि सुनकासी नदीको किनार आसपासमा नबस्न र नजान आग्रह गरेको छ ।