साउन १८ । सवारी नियम उल्लङघन गर्ने चालकबाट खोटाङमा ट्राफिक प्रहरीले डेढ लाख राजस्व संकलन गरेको छ । जिल्लामा ट्राफिक नियम उल्लंघन गर्दै सवारी साधन चलाउने पाँच सय जना चालकबाट ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७०/०७१ भित्र एक लाख ४९ हजार दुई सय रुपैयाँ राजस्व संकलन गरेको हो ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ब्लु बुक साथमा नराख्ने, तिब्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नबोक्ने, बसको हुटमा यात्रु राख्ने, क्षमताभन्दा बढि सामान राख्ने, ट्याक्टरमा यात्रु बोक्ने, हेल्मेट नलगाई मोटर साईकल चलाउने र मोटर साईकलमा दुई भन्दा बढिलाई राखेर हिँड्ने चालकहरुबाट जरिवाना शुल्क उठाइएको ट्राफिक प्रहरी सहायक निरीक्षक तेजकुमार बस्नेतले बताउनुभयो । ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई प्रतिव्यक्ति एक सयदेखि एक हजारसम्म जरिवाना गरिएको बस्नेतको भनाइ छ ।

मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउने चालकलाई प्रतिव्यक्ति एक हजारका दरले जरिवाना गरिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षमताभन्दा बढि यात्रु ओसारपसार गर्ने, तोकिएभन्दा बढि माल सामान राख्ने, हेल्मेट नलगाउने चालकलाई प्रतिव्यक्ति पाँच सयका दरले जरिवाना गरिएको छ ।