साउन–२०, जिल्लाका विद्यार्थीलाई ट्राफिक नियमको बारेमा जानकारी दिने उद्देश्यले ट्राफिक प्रहरीले अभियान शुरु गरेको छ । ट्राफिक नियमका पालना गर्न, विद्यालय जाँदा–आउँदा सडकको पेटी वा छेउबाट हिँडडुल गर्न, हतारमा सडक पार नगर्न, सडकमा नखेल्न, सवारी साधनको छतमा नबस्न, फुटपाथबाट आवतजावत गर्न, सवारी साधनको पछाडि बसेर यात्रा नगर्न लगायतका विषयमा सचेत गराउने उद्देश्यले प्रहरीले अभियान शुरु गरेको हो । 
जिल्लामा हुने अधिकांश सडक दुर्घटनामा बालबालिका परेको देखिएका कारण विद्यार्थीलाई ट्राफिक नियमको बारेमा जानकारी दिने उद्देश्यले ट्राफिक प्रहरी नायव उपरीक्षक तेजकुमार बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यार्थीलाई ट्राफिक नियमको विषयमा जानकारी गराउन थालिएको हो ।’
अभियानको पहिलो दिन सामुदायिक विकास सेवा केन्द्रको आयोजनामा ट्राफिक प्रहरीले सदरमुकाम दिक्तेलस्थित सरस्वति उच्च मावि र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका विद्यार्थीलाई ट्राफिक नियमका विषयमा जानकारी गराएको छ । ट्राफिक प्रहरीले सोमबार दुबै विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमको विषयमा कक्षा सञ्चालन गरेको थियो । 
ट्राफिक प्रहरीले विद्यार्थीलाई कुलतबाट टाढा रहन समेत सचेत गराएको छ । कार्यक्रममा पछिल्लो समय जिल्लाका विद्यार्थीहरु कलतमा फस्दै गएको भन्दै यसमा सचेत रहन आग्रह गरेको हो ।