साउन-२९, वर्षाका कारण गएको पहिरोमा परी खोटाङमा लघुजलबिद्युत आयोजनाका एक प्राबिधिकको मृत्यु भएको छ । ८ घर परिवारका ३० जना भन्दा बढि बिस्थापित भएका छन् ।
भारी वर्षापछि मंगलबार राती गएको पहिरोले पुरिएर उत्तरी गाबिस फेदीका–५ स्थित पञ्चमी छमुवा खोला लघुजलबिद्युत आयोजनाका ३६ वर्षीय प्राबिधिक अष्टकुमार राईको मृत्यु भएको हो । राईको शव स्थानीयले पहिरोबाट निकालेका छन् । सोही पहिरोले लघुजलबिद्युत आयोजनाको पावर हाउसमा कार्यरत स्थानीय २९ वर्षीय प्रबिण राई घाइते भएको प्रहरीले जनाएको छ । ६० मिटर माथिबाट खसेको पहिरोले तीन वर्षअघि देखि सञ्चालनमा आएको ३९ किलोवाट क्षमताको लघुजलबिद्युत आयोजनाको पावर हाउस पुरेर ध्वस्त बनाएको छ । पहिरो पिडितको उद्धारलागि बुधबार सदरमुकाम दिक्तेलबाट ३९ सेना, १३ सशस्त्र र १७ जना नेपाल प्रहरीको संयुक्त टोली घट्नास्थलतर्फ खटाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम दिक्तेलबाट एक दिन टाढा पर्छ ।
भारी वर्षाका कारण गएको पहिरोका कारण फेदी–५ का पाँच, बासपानी, खार्मी र पाथेकामा एक÷एक घर परिवार बिस्थापित भएका छन्् । घरलाई पहिरोले तानेपछि नौमणी दर्जीको ७, रामबहादुर राईको ५, ज्ञानबहादुर सार्कीको ७, हर्कबहादुर दर्जीको ६ र मायाँ राईको ४ जनाको परिवार बिस्थापित भएका हुन् । बिस्थापित परिवारलाई घरबाट सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो । प्रहरीका अनुशार नौमणीको घरमा तीनतिरबाट पहिरो खसेको छ भने, पहिरोले तानेपछि रामबहादुरको घर चर्किएको छ । पहिरोकै कारण फेदी–९ का गोपाल राईको गोठ बगेको छ । पहिरोले घर चर्किएपछि बासपानी–२ का भोलामनी राईको परिवार बिस्थापित भएका छन् । वर्षा कायम रहेकाले जोखिम बढ्दो रहेको प्रहरीले जनाएको छ ।
पहिरोले फेदी–१, २, ३, ५ र ९ वडाका बिभिन्न ठाउँमा क्षती पु¥याएको स्थानीय धनकुमार राईले बताउनुभयो । राईका अनुशार फेदी–३ स्थित ४० किलोवाट क्षमताको नोक्ती तापखोला लघुजलबिद्युत आयोजनाको कुलो बगाएको छ । कुलो बगाएपछि गाउँमा विद्युत सेवा बन्द भएको छ । बाढीले फेदी–३ कै तापखोलाको काठे पुल बगाएपछि आवतजावत बन्द भएको स्थानीयले जानकारी दिएका छन् । विद्यार्थी आवतजावत गर्ने काठे पुल बगाएपछि फेदी–३ को लालीगुराँस प्राबि र फेदी–५ को पत्करु निमाबिको पठन–पाठन प्रभाबित बनेको राईले जानकारी दिनुभयो ।
यस्तै पहिरोले खार्मी–३ रुधालुङका खरबमनी राईको घर बगाएको छ । पहिरो बिस्तारै खसेको र मान्छे भागेकाले मानवीय क्षती भने नभएको प्रहरी नायब उपरिक्षक गोबिन्द शाहले बताउनुभयो । प्रहरी नायब उपरिक्षक शाहका अनुशार पहिरोले पाथेका–९ का सेतुमान राईको घर र गोठ पनि बगाएको छ । पहिरोमा उनको एउटा भैंसी, दुई वटा बाख्रा मारिएका छन् । पाथेकाकै नाखाम खोला जघुजलबिद्युत आयोजनाको कुलो बगाएपछि सिंगो गाबिसमा बिद्युत अवरुद्ध भएको छ । बाढीको जोखिममा परेको पाथेकाकै तापखोलाको झोलुंगे पुल जोगाउनका लागि जबरजङ गण दिक्तेलका गणपती रामबहादुर थापाको नेतृत्वमा शुक्रबार सेनाको टोली जाने तयारी भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।