भदौ–३, नजिकै रहेको सुँगुरको खोरबाट निस्किएको फोहोरमैलाका कारण खोटाङको सदरमुकाम दिक्तेलस्थित दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दुर्गन्धित बनेको छ । स्थानीयले नजिकै बनाएको सुँगुरको खोरबाट निस्किएको दुर्गन्धका कारण विद्यालयको पठन–पाठन प्रभावित भएको विद्यालयका शिक्षक÷शिक्षिकाको गुनासो छ ।

फोहोरमैलाको दुर्गन्धका कारण शैक्षिक क्रियाकलाप सञ्चालनकाक्रममा शिक्षक र विद्यार्थीले नाक थुन्नु पर्ने अवस्था रहेको एक शिक्षकले जानकारी दिएका छन् । कक्षा–३ को सेक्सन ‘ए’, कक्षा–२ को सेक्सन ‘ए’ र कक्षा–१ को सेक्सन ‘डी’ मा फोहोरमैलाको दुर्गन्ध सिधै कक्षामा आउँदा पठन–पाठन समेत प्रभावित हुने गरेको विद्यालयले जनाएको छ ।

एक शिक्षकका अनुसार दुर्गन्धका कारण कतिपय छात्रछात्राले विद्यालयमा खाजा समेत लैजान छाडेका छन् । विद्यालयबाट सुँगुरको खोर २०÷२५ मिटर मात्र टाढा छ ।  वर्षाको समयमा झनै बढि दुर्गन्ध आउने गरेको विद्यालयका शिक्षकहरुले बताएका छन् ।