भदौ–५, खोटाङको सदरमुकाम दिक्तेलमा निर्माण गरिएको आँखा उपचार केन्द्रको भवन उद्घाटन गरिएको छ । जिल्ला अस्पताल दिक्तेल परिसरमा निर्माण गरिएको आँखा उपचार केन्द्रको भवन बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन  गरिएको हो ।

हङकङमा रहेका खोटाङ्गेहरुले स्थापना गरेको खोटाङ समाज हङकङले ३० लाख ४७ हजारको लागतमा पाँच कोठा भएको डेढ तलाको पक्की भवन निर्माण गरी दिएपछि प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । जिल्लाका आँखा रोगीहरुको उपचार जिल्लामै गर्ने व्यवस्था मिलाउने उद्देश्यका साथ नेपाल नेत्र ज्योति संघ शाखा खोटाङको आग्रहमा भवन निर्माण गरीदिएको समाजका अध्यक्ष अधिराज राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भवन अभावमा जिल्लाका बिरामीहरुले धेरै दुःख पाएको खबर पायौं, त्यसलाई समाधान गर्ने उद्देश्यका साथ हङकङमा बस्ने खोटाङ्गेहरुबाट प्रति व्यक्ति पाँच सयदेखि १५ हजार हङकङ डलर उठाएर भवन निर्माण गरीदिएका हौं ।’

जिल्ला अस्पतालले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्पताल परिसरमै समाजले केन्द्रको भवन निर्माण गरी दिएको हो । पाँच महिनाभित्र निर्माण पूरा भएको भवनको तालाचावी उद्घाटनकै अवसरमा नेत्रज्योति संघका अध्यक्ष पुष्पशंकर विश्वकर्मालाई समाजका अध्यक्ष राईले हस्तान्तरण गर्नुभएको छ ।

चौधरी आँखा अस्पताल लाहानको सहयोगमा २०६१ बैशाख १५ गतेदेखि भवन अभावमा जिल्ला अस्पतालको एउटा कोठाबाट सञ्चालन हुदै आएको आँखा उपचार केन्द्रको भवन निर्माण भएपछि आँखा रोगीलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने केन्द्रका प्रमुख हरिहर श्रेष्ठले बताउनुभयो । यसअघि भवन अभावमा प्रभावकारी उपचार हुन नसक्दा जिल्लाका आँखा रोगीहरु ठूलो मात्रामा खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यता थियो ।

सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ १७ वर्षअघि स्थापना भएको समाजले दैवीप्रकोपमा परेका, निम्न आर्थिक भइ उपचारमा समस्या भएका, विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यसैवीच, मृत श्रीमानको सम्झनामा दिक्तेल–२ की समाजसेवी गीता शंकरले दुई लाखको अक्षय कोष स्थापना गरिदिनुभएको छ । आर्थिक अभावका कारण उपचार गराउन नसक्ने आँखाका रोगीहरुको लागि सहयोग गर्ने उद्धेश्यले अक्षय कोष स्थापना गरेको शंकरले बताउनुभयो । शंकरले श्रीमान धनमानसिं विश्वकर्माको सम्झनामा अक्षय कोषको स्थापना गरीदिएको जानकारी दिनुभयो ।
कार्यक्रमको अवसरमा समाजद्धारा प्रकाशित खोटाङ बुलेटिन २०१४ नामक पुस्तक लोकार्अपण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी सापकोटाले कथा, कविता, आलेख÷विचार, गीत, गजल समेटिएको ४४ पृष्ठ लामो खोटाङ बुलेटिन लोकार्अपण गर्नुभएको हो ।