उनीहरुले होटलमा घटेको घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुको सट्टा प्रहरीले पूर्वाग्रह राखेर घाइतेहरुलाई मानसिक तथा शारीरिक यातना दिएको आरोप लगाएका छन् । पाँच जातीय संस्थाहरुले संयुक्त विज्ञप्तीमार्फत घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन अधिकारवादी संस्थाहरु समक्ष आग्रह गरेका छन् ।
लामीडाँडा विमानस्थलको सुरक्षार्थ बसेका सई दानबहादुर कार्की नेतृत्वको प्रहरीले घाइतेहरुलाई दुई दिनसम्म नियन्त्रणमा लिएर यातना दिएको पीडितका आफन्त मिलन राईले बताउनुभयो । कांग्रेस खोटाङका क्षेत्रीय सभापति फटिककुमार श्रेष्ठ र नेपाल एयरलाइन्सको लामीडाँडा बिमानस्थल स्टेशन इन्चार्ज रमेश श्रेष्ठको निर्देशनमा एमाले लामिडाँडाका सदस्य रहेका देवन, उत्तम र नविनमाथि कुटपिट गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
राजनैतिक पूर्वाग्रह तथा अनुचित प्रभावमा परी प्रहरीले आफुहरुलाई शारीरिक तथा मानसिक यातना दिएको घाइतेको भनाइ छ । जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालीन प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले घटनाको विषयमा बुझ्दैनबुझी ५० हजार तिराएर जबरजस्ती मिलापत्र गराएको जारी विज्ञप्तीमा उल्लेख छ । साहले भने पूर्वाग्रहमा मिलापत्र नगराएको दावी गर्दै आवश्यक परे घटनाको विषयमा पुनः छानविन हुने बताउनुभएको छ ।
यसबारे क्षेत्रीय सभापति फटिककुमार श्रेष्ठले आफूलाई बदनाम गराउन नियतपूर्ण ढङ्गले जातीय संघसंस्थाले विज्ञप्ती जारी गरेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘उनीहरु आफू–आफू झगडा गर्छन्, अनि हामीमाथि दोष लगाउदै जातीय संघसंस्थाले उछाल्नु राम्रो कुरा होइन ।’