भदौ–१२ । ज्योतिषी हुँ भन्दै जिल्लाबासीलाई ठगी गर्ने एक युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । खोटाङको विभिन्न गाविसमा हात तथा चिना हेर्दै ठगी गर्ने अर्घाखाँची जिल्लाको मरेङ गाविस वडा नं.–९ घर भएका २१ वर्षीय अर्जुन पाण्डेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
साउन–१६ गते जिल्लाको उत्तरी गाविस जालपाबाट पक्राउ परेका पाण्डेलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइएको थियो । उनले जिल्ला प्रशासन कार्यालयले तोकेको २८ हजार धरौटी रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गरिएको प्रशासनको मुद्दा शाखाका नायव सुब्बा लीलाबहादुर विश्वकर्माले बताउनुभयो ।
उनले आफूहरुबाट चर्को शुल्क लिएर झुटो आश्वसन दिने गरेको जिल्लाबासीको भनाइ छ । महिना दिनअघि जिल्ला प्रवेश गरेका उनले महिलाहरुको मात्रै हात हेर्ने गरेको अनुसन्धानमा खुल्न आएको नासु विश्वकर्माले जानकारी दिनुभयो ।