खोटाङ  असार–३१,  खोटाङस्थित स्थानीय तहका जनप्रतिनिधि पहिचानका लागि लोगो बितरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा जिल्लाका दश वटै स्थानीय तहका जनप्रतिनिधिका लागि एकै किसिमको लोगो वितरण गरिएको हो । 
आईतबार दिक्तेलमा आयोजित दोश्रो जिल्लासभाको अवसरमा दुई हातले उठाएको खोटाङको नक्सा र नक्सामाथि राष्ट्रिय झण्डा रहेको लोगो प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई र उषाकला राईले सार्वजनिक गरेका हुन् । लोगो सार्वजनिकसँगै प्रतिनिधिसभा सदस्य भट्टराईले जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेबी खत्री तथा दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई लोगो वितरण गरिएको हो । 
पुरुष जनप्रतिनिधिका लागि पोशाकका रुपमा दौरा, सुरुवाल, कोट र टोपी तथा महिला जनप्रतिनिधिका लागि चौबन्दी चोलो, साडी र कोट लगाउने निर्णय कार्यान्वयन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख चाम्लिङले बताउनुभयो । २०७४ साल असोज २ गतेको जिल्ला समन्वय समितिको बैठकले औपचारिक कार्यक्रममा छुट्टै पहिचानका लागि जिल्ला समन्वय समिति, दुई नगरपालिका र आठ गाउँपालिकाका वडा सदस्यदेखि गाउँ÷नगर प्रमुखको लोगो सहितको पोशाक निर्धारण गर्ने निर्णय गरेको थियो ।