भदौ–१८, खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको चलचित्र ‘झोला’को च्यारिटि शोमा दर्शकको बाक्लो घुइँचो लागेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा भएको एक दिने च्यारिटि शो दर्शकको बाक्लो भीड र मागका कारण तीन दिन लम्व्याइएको छ । सोमबारकालागि आयोजना गरिएको एक दिने च्यारिटि शो दर्शकको भीडका कारण बुधबार सम्मकालागि लम्ब्याइएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका कोषाध्यक्ष एबं च्यारिटि शो व्यवस्थापन समितिका संयोजक डिएम चामलीङले बताउनुभयो । स्थानीय मुभीलेण्ड हाइभिजन हलमा आयोजना गरिएको झोलाको च्यारिटि शो दैनिक बिहान, दिउँसो र बेलुका तीन शोमा देखाउने व्यवस्था मिलाइएको छ । चलचित्रको च्यारिटि शोकालागि चलचित्र झोलाका निर्माता रामगोपाल थापा सहित तीन सदस्यीय टोली खोटाङ पुगेका छन् ।
साहित्यकार कृष्ण धाराबासीको कथा ‘झोला’मा आधारित चलचित्र झोला हेर्न हलमा जिल्लामा अहिलेसम्मकै बढि भीड लागेको छ । च्यारिटि शो जिल्लाका महिला चेलीबेटीलाई लक्षीत गरिएको भएपनि चलचित्र हेर्न सबै उमेरका दर्शकको उपस्थिति रहेको छ । सती प्रथामा आधारित चलचित्र झोला हेर्नकालागि गाउँ–गाउँबाट केटाकेटी, युवायुवती देखि बुढापासम्म हलमा आएका छन् । सुरुका दिन झोला हेरेका दर्शकले छिमेकी र आफन्तलाई पनि झोला हेर्न पठाएपछि हलमा थेगीनसक्नु भीड लागेको महासंघले जनाएको छ । फिल्म हेरेर घर आएका आफन्तले झोला हेर्न सुझाव दिएपछि हल खोज्दै आएकी नुनथलाकी उमा तामाङले बताउनुभयो । आयोजक नेपाल पत्रकार महासंघका अनुशार कतिपय दर्शकले तीन पटकसम्म दोहो¥याएर झोला हेरेका छन् । परिवारमा झोला हेर्न लायक चलचित्र भएको चर्चा चलेपछि लठ्ठीको साहरामा दिक्तेलकी ७४ वर्षीय धनकुमारी लयालु पनि झोला हेर्न हल पुग्नुभएको थियो ।
च्यारिटि शोको तीन दिनको अवधिमा जिल्लाका ५ हजार बढि दर्शकले झोला हेर्ने अनुमान गरिएको कोषाध्यक्ष चामलीङले बताउनुभयो । हलको क्षमता अनुशार दैनिक पन्ध्र सय बढि दर्शकले झोला हेरिरहेको महासंघले जनाएको छ । ‘झोला’ समाज रुपान्तरणकालागि सघाउ पु¥याउन उत्कृष्ट चलचित्र भएकाले च्यारिटि शोको आयोजना गरिएको महासंघका सह–सचिव केदार मगरले बताउनुभयो । दर्शकका कारण लम्बिएको च्यारिटि शो बुधबार साँझ समापन गरिने छ । झोला हेर्न आएका दर्शकको उपस्थितिले चलचित्र निर्माता थापाललाई थप उत्साहित बनाएको छ ।