भदौ–१९, आठ वर्षीया बालिकालाई बलात्कार गर्ने खोटाङका एक युवा पक्राउ परेका छन् । नजिकैको विद्यालयमा लगेर बालिकालाई बलात्कार गर्ने नुनथला–८ का १७ वर्षीय युवा साङ्गे शेर्पा पक्राउ परेका हुन् ।
बालिका बलात्कारपछि आफन्तले दिएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोद खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका शेर्पाले बलात्कार गरेको स्वीकारी सकेकाले जबरजस्ती करणी अन्तरगत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।’
बलात्कृत बालिकाको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पताल खोटाङका डाक्टर पुजन वल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।’ शेर्पाले गत १६ गते बेलुका बालिकालाई फकाइफुल्याइ बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोदकुमार यादवले बताउनुभयो । उहाँका अनुसार बलात्कारपछि बालिकाको यौनाङ्गभित्र लौरो समेत घुसारिएको खुल्न आएको छ ।
बलात्कारपछि रगताम्मे भएर रुँदै घर आएपछि आफूहरुले सोही दिन प्रहरीलाई खबर गरिएको आफन्तको भनाइ छ । बलात्कारपछि फरार युवकलाई गाउँमा डुलीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिन्ताजनक अवस्थामा रहेकी बालिकाको थप उपचारका लागि काठमाडौं लगिएको छ । उनी हालसम्म बेहोस रहेको आफन्तको भनाइ छ ।