भदौ–१९, सडक विभागका सव–ओभरसियर कुटपिट गरेको आरोमा युवा संघका केन्द्रीय सदस्यसहित दुई जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ । सव–ओभरसियर प्रदिप राईलाई कुटपिट गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य दिलचक्र राई र जिल्ला सदस्य मोतिराज राई विरुद्ध मुद्दा दर्ता भएको हो ।
मध्यपहाडि लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा काम गर्दै आएका सव–ओभरसियर राईमाथि आरोपितहरुले मंगलबार साँझ कुटपिट गरेको आरोप छ । सडक निर्माणको क्रममा कमिसनको विषयमा विवाद भएपछि आरोपितहरुले कुटपिट गरी घाईते बनाएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
पीडितको जिल्ला खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको शरीरको विभिन्न भागमा चोट लागेको अस्पताल श्रोतले जनाएको छ । कुटपिट संलग्न मोतिराज राईलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ भने, अर्का आरोपित केन्द्रीय सदस्य फरार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोद खरेलले बताउनुभयो । उनको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको खरेलले जानकारी दिनुभयो ।