भदौ–२२, बहुलाहा कुकुरको बिगबिगीले जिल्लाबासी त्रसित बनेका छन् । अगाडि भेटेका मान्छे तथा पशुचौपायलाई टोक्दै हिड्ने कुकुरलाई नियन्त्रणमा लिन नसकिएपछि जिल्लाबासी त्रसित बनेका हुन् ।
बहुलाहा कुकुरको टोकाइबाट हप्तादिनभित्रमा चार जना घाइते बनेका छन् । सप्तेश्वर–२ का धनराज राई, सन्तोस राई, खार्मी–२ साब्रुका बसन्त गुरुङ र झरना गुरुङ घाइते भएका हुन् । घाइते चारै जनाको जनसेवा सामुदायिक अस्पताल जालपामा उपचार भइरहेको अस्पतालका ईन्चार्ज गोपाल गुरुङले जानकारी दिनुभएको छ ।
बहुलाहा कुकुर नियन्त्रणमा लिन नसकिएकाले गाउँमा त्रास फैलिएको जनसेवा समाज नेपाल जालपाका अध्यक्ष ईमान राईले बताउनुभयो । खार्मीबाट मान्छे टोक्न थालेको कुकुरले क्रमशः छिमेकी गाविसका स्थानीयलाई टोक्न थालेको जानकारी आएको राईको भनाइ छ ।
सदरमुकाम दिक्तेलको हाटडाँडामै बहुलाहा कुकुरले टोकेको एउटा भैंसीलाई बिहिबार गोली हानेर मारिएको छ । स्थानीयका अनुसार बहुलाहा कुकुरको टोकाइबाट सप्तेश्वरमा एउटा भैंसी मरिसकेको छ ।
बहुलाहा कुकुर तथा स्यालदेखि शतर्क रहन जिल्लाका सर्वसाधारणलाई जिल्ला पशुसेवा कार्यालयले आग्रह गरेको छ । आफ्नो घरमा पालिएका कुकुर तथा बिरालोलाई बाँधेर राख्न तथा रेबिजविरुद्धको खोप लगाउन पनि कार्यालयले अनुरोध गरेको छ । यसअघि, साउन–१४ गते खेतको काममा हिडेका दोर्पाचिउरीडाँडा–५ का पाँच जना घाइते बनेका थिए । वर्ष दिन अघि पनि जिल्लामा बहुलाहा कुकुरको आतंक फैलिएको थियो ।