भदौ–२५, स्थानीय शान्ति समिति खोटाङ सद्भाव भ्रमणका लागि सोलुखुम्बु प्रस्थान गरेको छ । दुई जिल्लाबीच सिकाई उपलब्धी आदान–प्रदानका गर्ने उद्देश्यका साथ सात दिने सद्भाव भ्रमणका लागि भ्रमण टोली बुधबार सोलु प्रस्थान गरेको हो । 
सोलुखुम्बुमा रहँदा त्यहाँका शान्ति समितिले द्धन्द्ध न्युनिकरणका लागि गरेका क्रियाकलापका बारेमा जानकारी लिने र आफूहरुले गरेका गतिविधिका बारेमा जानकारी दिने काम हुने समितिका संयोजक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । राप्रपा नेपालका जिल्ला अध्यक्ष समेत रहेका श्रेष्ठले भन्नुभयो, ‘द्धन्द्ध न्युनिकरणका समस्या र समाधानका उपायहरुका बारेमा अन्तरक्रिया समेत गर्ने कार्यक्रम रहेको छ ।’
भ्रमण टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राई सहित १५ सदस्य रहेको छ । टोलीले सोलुखुम्बुमा भएका विकास निर्माणका बारेमा पूर्वाधारहरुको समेत अनुगमन भ्रमण गर्ने संयोजक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसले जिल्लामा गर्नुपर्ने विकास निर्माणका बारेमा थप सिकाई हुने अपेक्षा गरेका छौं ।’
समितिले यसअघि रोल्पा भ्रमण गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष जीवनकुमार राई ‘ललित’ संयोजक रहेको बेलामा नेकपा माओवादीले जनयुद्ध शुरु गरेको रोल्पा भ्रमण गरेको हो ।