भदौ–२६, गाई काटेको आरोपमा खोटाङमा चार जनालाई प्रहरीले नियन्त्रणमाा लिएको छ । गाई काटेर खाएको स्थानीयले दिएको जानकारीको आधारमा बाकाचोल–९ का ६२ वर्षीय पदम तामाङ, उनका छोरा ३१ वर्षीय पेम्बा तामाङ र सोलुखुम्बु जिल्लाको लोखिम–९ बस्ने लाक्पानुरु तामाङ र मान्के तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
जिल्लाको उत्तरी गाविस बाकोचोलस्थित स्थानीय जंगलमा गत मंगलबार दिउसो उनीहरुले गाई काटेर खाएको स्थानीयले दिएको ठाडो उजुरीको आधारमा इलाका प्रहरी चौकी ऐसेलुखर्कका प्रहरीको गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीयले दिएको मौखिक जानकारीको आधारमा पक्राउ गरिएकाले उनीहरु घटनामा संलग्न भएनभएको बारेमा अनुसन्धान भइरहेको छ ।’ 
प्रहरीका अनुसार स्थानीयले जानकारी गराउनाथ खटिएर गएको प्रहरीको टोलीले उनीहरुलाई मंगलबार नै नियन्त्रणमा लिएको हो । उनीहरुलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याएर अनसन्धान थालिएको छ ।