भदौ–२७, कतारमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका देविस्थान–२ का मिलनकुमार राईको परिवारलाई ४० हजार रुपैयाँ रकम प्रदान गरिएको हो ।
रोजगारीको सिलसिलामा कतारमा रहेका खोटाङ्गेहरुबाट खोटाङ सेवा समाज दोहा कतारले संकलन गरेको ४० हजार रुपैयाँ रकम मृतकका श्रीमती समी राईलाई प्रदान गरिएको जनाइएको छ । नेपाल पत्रकार महासंघ खोटाङको रोहबरमा समाजका भूतपूर्व महासचिव नारायण बस्नेतका श्रीमती कल्पना बस्नेतले सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
खोटाङको सदरमुकाम दिक्तेलस्थित रुपाकोट सामुदायिक रेडियोको सम्पर्क कार्यालयमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष सुर्य तामाङ, सहसचिव केदार मगर, रुपाकोट रेडियोका स्टेशन मेनेजर टंक थापा लगायतको उपस्थिति रहेको थियो ।
छ महिनाअघि कतार पुगेर सप्लाईको काम गर्दै आएका राईको गत २०७० साल कात्र्तिक–१ गते सुतेकै अवस्थामा ज्यान गएको थियो । तीन वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका राई दम्पतीको अढाई वर्षकी एक छोरी छन् ।
राईको मृत्युपछि कम्पनीले छ लाख र बिमा कम्पनीले दुई लाख गरी जम्मा आठ लाख रुपैयाँ मृतकका परिवारले यसअघि नै पाइसकेका छन् । साहुको ऋण काढेर कतार पुगेका राईको ज्यान गएपछि प्राप्त रकमले ऋण तिरेको राईकी श्रीमती समीले बताउनुभयो ।