भदौ–२७, सामाजिक परिचालक हकहित संरक्षण मञ्च खोटाङले स्थानीय विकास मन्त्रीलाई विभिन्न पाँच बुदे ज्ञापन पठाएको छ । जिल्ला विकास समितिको कार्यालय खोटाङमार्फत स्थानीय विकास मन्त्री प्रकाशमान सिंलाई ज्ञापन पठाएको हो ।
सामाजिक परिचालन कार्यविधि २०७१ संशोधन गरिनुपर्ने, योग्यता अनुसार सामाजिक परिचालकहरुको उचित तलब सुविधा व्यवस्था गरिनुपर्ने, सामाजिक परिचालकहरुको नियुक्ती जिल्ला विकास समितिमार्फत गरिनुपर्ने, नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चलाई गरिबी न्युनिकरणमा टेवा पु¥याउने किसिमको कार्यक्रम दिइनुपर्ने र सामाजिक परिचालकका लागि अनिवार्यरुपमा परिचयपत्रको व्यवस्था गरिनुपर्ने ज्ञापन–पत्रमा उल्लेख छ । सामाजिक परिचालक हकहित संरक्षण मञ्च खोटाङका अध्यक्ष तेजबहादुर निरौलाले हस्ताक्षर गर्नुभएको ज्ञापनमा आफूहरुले गरेको मागका सम्बन्धमा सम्बोधन नभए चरमवद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
निमित्त स्थानीय विकास अधिकारी रबिकिरण आचार्यमार्फत शुक्रबार स्थानीय विकास मन्त्रीलाई पठाइएको ज्ञापन–पत्रमा सामाजिक परिचालकको तलब सामान्य मजदुरको भन्दा कम भएको भन्दै बढाउन माग गरिएको छ । अन्य कर्मचारीलाई दशै खर्च उपलब्ध गराउँदा आफूहरुले पनि पाउनुपर्ने नभए चरमवद्ध आन्दोलनमा जाने ज्ञापन–पत्रमा उल्लेख छ । 
ज्ञापन–पत्र बुझ्दै निमित्त स्थानीय विकास अधिकारी आचार्यले सामाजिक परिचालकले उठाएका माग सकारात्मक भएको भन्दै सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनुभएको छ । ज्ञापन–पत्र लिएर जिल्ला विकास समितिको कार्यलयमा पुगेका सामाजिक परिचालकहरुसमक्ष यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।